बुधबार, चैत ८, २०७९

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि आज पनि एमिकस क्युरीको बहस

फ्ल्यासन्युज नेपाल२०७७ फागुन ६ गते ९:५३

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज पनि एमिकस क्युरी अर्थात् अदालतका सहयोगी सदस्यले आफ्नो राय दिने भएका छन् ।

अस्ति मंगलवारदेखि एमिकस क्युरीको बहस सुरु भएका हो । आज एमिकस क्युरीका बाँकी अधिवक्ता बहसमा सहभागी हुनेछन् । पहिलो दिन मंगलवार बद्रीबहादुर कार्कीले राय दिएका थिए। यस्तै हिजो सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले राय दिएका थिए ।

बहसका क्रममा कार्कीले संविधानमा जे उल्लेख छ, त्यही मात्रै हेरेर संसद विघटनविरुद्ध परेका रिटको फैसला हुनुपर्ने बताउनुभएको छ भने खरेलले संविधानअनुसार प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने तर देशमा कुनै कम्पन दिउँ भन्ने लागेको भएमा अदालतले प्रधानमन्त्रीको निर्णय सदर गर्न पनि सक्ने राय दिनुभएको छ । तर अर्का सदस्य विजयकान्त मैनालीले भने प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार रहेको दाबी गरेका छन् ।

एमिकस क्युरीका पाँच जना सदस्यमध्ये अब पूर्णमान शाक्य र गीता पाठकले राय दिन बाँकी छ । सबैको राय आएपछि अदालतले प्रतिनिधिसभा विघटन विरुद्धका रिटको फैसला गर्नेछ । गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनको घोषणा गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएका छन् ।

परेका १३ वटा रिटमाथि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

तपाइँको प्रतिक्रिया