मंगलबार, जेठ १६, २०८०

प्रतिनिधि सभा विघटनबारे आधिकारीक बनाउन कांग्रेसको बैठक बस्दै

फ्ल्यासन्युज नेपाल२०७७ फागुन ६ गते ८:२७

काठमाडौं । नेपाली कांग्रेसको बैठक आज पनि बस्दै छ । बुधबार बसेको कांग्रेस केन्द्रीय कमिटीको बैठकले कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ ७ गते देखी १४ गते गर्ने निर्णय गरेको थियो । आजको बैठकमा भने प्रतिनिधि सभा बैठक विघटनका विषयमा आधिकारीक धारणा बनाउन बैठक बस्न लागेको कांग्रेसले जनाएको छ ।

बैठक दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । संसद विघटनविरुद्ध प्रमुख शहरहरुमा ठूला सभा आयोजना गर्नुपर्ने आवाज पनि कांग्रेसभित्र उठेको छ । सहमहामन्त्री प्रकाशशरण महतका अनुसार ठूला सभा राजधानी काठमाडौंमा मात्र गर्ने कि प्रदेशस्तरमा पनि आयोजना गर्ने भन्ने विषयमा छलफल जारी छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संसद विघटन असंवैधानिक भएकाले संसद पुनःस्थापित हुनुपर्छ भन्ने निर्णय गरेर कांग्रेस सशक्त आन्दोलनमा जानुपर्ने धारणा बुधबारको बैठकमा राखेका थिए ।

सभापति शेरबहादुर देउवा भने संसद विघटनको विषय सर्वोच्च अदालतमा पुगेकाले फैसला गर्न अदालतलाई दबाव पुग्ने खालको कुनै पनि गतिविधि गर्न नहुने धारणा राख्दै आएका छन् ।

 

तपाइँको प्रतिक्रिया