बिहीबार, मंसिर १४, २०८०

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

फ्ल्यासन्युज नेपाल२०७७ फागुन ५ गते ९:५३

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बस्दैछ । १४ औं महाधिवेशनबारे नयाँ मितिबारे छलफल गर्न कांग्रेसको केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।

आगामी सात गतेदेखि शुरु हुनुपर्ने महाधिवेशन हुने सम्भावना सकिए पनि अझैं कांग्रेसले महाधिवेशनको नयाँ मिति तय गर्न सकेको छैन ।

फागुन मसान्त भित्र नेपाली कांग्रेसको महाधिवेशन नसकिए संविधानले दिएको ६ महिने प्रावधान अनुसार भदौसम्म म्याद थप गर्न सकिन्छ । भदौ उता पनि महाधिवेशन भएन भने कांग्रेसको वैधानिकता सकिने भएकाले वुधबारको बैठकमा महाधिवेशनको मिति तोक्ने गरि छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रतिनिधि सभा विघटन सम्बन्धी विषयलाई सर्वोच्च अदालतले टुङ्गो लगाएपछि मात्रै राष्ट्रिय राजनीतिले मार्ग प्राप्त गर्ने भएकाले त्यसपछि नयाँ मिति तय गर्ने अथवा अगाडि नै तय गर्ने भन्ने सम्बन्धमा समेत छलफल हुने उनले बताए ।

कांग्रेसमा रहेका गुट अनुसार पनि अहिले महाधिवेशनको मिति तोक्ने या नतोक्ने भन्नेमा विवाद रहेको छ । संस्थापन पक्ष अदालतको निर्णयपछि मात्रै मिति तोक्नु पर्ने बताउँदै आएको छ भने रामचन्द्र पौडेल पक्ष भने महाधिवेशनको मिति तोकेर अघि बढ्नु पर्ने पक्षमा अडिग रहेको छ ।

बैठकमा पार्टीको आन्तरिक समस्या, क्रियाशिल सदस्यता वितरण लगायत विषयमा पनि छलफल हुने बताइएको छ ।

तपाइँको प्रतिक्रिया