भारतीय मुख्यमन्त्रीको अभिव्यक्तिप्रति नेपालले जनायो औपचारिक आपत्ति
काठमाडौं । नेपालमा भारतीय जनता पार्टीको सरकार गठन गर्ने तयारी भइरहेको भनेर भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले दिएको अभिव्यक्तिप्रति नेपालले औपचारिक रुपमा आपत्ति जनाएको छ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अभिव्यक्तिबारे सरकारले आपत्ति जनाइसकेको जानकारी दिएका हुन्। ज्ञवालीले ट्विटरमा यो विषय जानकारीमा लिइएको र औपचारिक रुपमै आपत्ति व्यक्त गरिएको बताएका छन् ।
ट्विटर प्रयोगकर्ता समीर अन्सारीले त्यस विषयमा परराष्ट्रमन्त्री ज्ञवालीलाई मेन्सन गर्दै चासो व्यक्त गरेपछि ज्ञवालीले जवाफ दिँदै आपत्ति जनाइसकेको जानकारी दिए ।
भारतीय गृहमन्त्री अमीत शाहले भारतमा मात्रै नभएर नेपाल र श्रीलंकामा पनि भाजपाको सरकार गठन गर्ने तयारी भैरहेको जानकारी गराएको भनेर त्रिपुराका मुख्यमन्त्रीले भाषण गरेका थिए । उनको भनाइ उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले समाचार सम्प्रेषण गरेका छन ।
यो धारणाप्रति यसअघि नै श्रीलंकाले पनि आपत्ति जनाइसकेको छ। भारतका लागि नेपाली राजदूत निलाम्वर आचार्यले पनि त्यसबारे भारतीय अधिकारीसँग आपत्ति प्रकट गरेका छन् ।