प्रधानमन्त्री हुन यो सब गरेको होइनः प्रचण्ड
चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री हुन अहिलेको आन्दोलन नगरेको बताएका छन् । आफूलाई प्रधानमन्त्री पदको लोभ नभएको पनि बताउँदै उनले संसद् पुनःस्थापना नभए देश अराजकताको भुमरीमा जाने बताएका हुन् ।
अहिलेकै स्थितिमा चुनाव भए देशमा दक्षिणपन्थी र वामपन्थी अतिवाद हाबी हुने उनको भनाइ छ। त्यस्तै संयुक्त आन्दोलनका लागि अन्य दलसँग पनि सहकार्यको कोसिस भइरहेको प्रचण्डले बताएका छन्। उनले भने, ‘यो भ्रम कसैलाई नपरोस्, प्रचण्डले यो संघर्षको नेतृत्व थालेको प्रधानमन्त्री पाउन हैन,’ उनले भने । अहिलेको संकट समाधान गर्न प्रतिपक्ष पार्टीहरूसहित संयुक्त आन्दोलन गर्ने प्रयास भइरहेको दाहालले सुनाए । ‘मैले शेरबहादुरजी, रामचन्द्र जी र जसपाका नेताहरूसँग कुरा गरिराखेकै छु। संयुक्त आन्दोलन भए चाँडो छिनोफानो हुन्छ।’
उनले संसद पुनःस्थापना हुनेमा आफू ढुक्क रहेको बताउँदै भएन भने के गर्ने भन्नेतिर नलाग्न समेत आग्रह गरे । ‘संसद् पुनःस्थापना हुन्छ। भएन भने के हुन्छ, हाइपोथेसिसमा नजाऊँ, यस्तो भए नेपाली जनता चुप लागेर बस्दैन। कतै न कतैबाट आन्दोलनमा जान्छ।’
त्यस्तै उनले निर्वाचन आयोगले सूर्य चिह्न कसैलाई नदिने गरेर ‘फ्रिज’ गर्न नपाउने बताए। आयोगले पार्टीको बहुमतलाई मान्यता दिने उनको भनाइ थियो।