सर्वोच्च बारमा आवद्ध कानून व्यवसायीहरुलाई कोरोना खोप उपलब्ध गराउन आग्रह
काठमाडौं । सर्वोच्च बार एशोसिएशनले बारमा आवद्ध कानून व्यवसायीहरुलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन सरकारसमक्ष आग्रह गरेको छ । सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले एक विज्ञप्ति जारी गर्दै बारमा आवद्ध ६५० कानून व्यवसायीलार्य कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेका हुन् ।
बारमा आवद्ध कानून व्यवसायीहरु अधिकांश ६० वर्ष उमेर पार गरिसकेका कारण कोरोनाविरुद्धको खोप अपरिहार्य रहेको बारको ठहर छ ।
कानून व्यवसायीहरु सामाजिक अभियन्ता भएका कारण अदालतहरुमा बहस पैरवी गर्न जानुपर्ने र बन्दाबन्दीको समयमा पनि नेपालको संविधानमा उल्लेख भएका मौलिक हक प्रचलनका लागि कानून व्यसायीहरु दिनरात अग्रस्थानमा रही कार्य गर्दै आएको बारले उल्लेख गरेको छ ।
कानून व्यवसायीहरु दैनिक बहस पैरवी गर्न अदालत जानुपर्ने हुँदा महामारी प्रकोपबाट जोगिन र जोगाउनका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गराउन बारले सरकारसँग अनुरोध गरेको हो ।