फागुन अन्तिम सातादेखि समुदायस्तरमा कोरोनाविरुद्धको खोप अभियान शुरु हुँदै
काठमाडौं । सरकारले फागुन अन्तिम सातादेखि समुदायस्तरमा कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु गर्ने भएको छ । सबैभन्दा बढी जोखिममा रहेका ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखिने अभियान एक सातादेखि १० दिनसम्म चल्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो अभियान अन्तर्गत ५५ वर्षमाथि उमेर समूहलाई खोप लगाउने मन्त्रालयको तयारी छ । सरकारले ७५ वर्ष उमेरमाथिको समूहलाई पहिलो प्राथमिकतामा राखेको छ । सो उमेर समूहका नागरिकको संख्या छ लाख रहेको छ ।
यो समूहलाई पनि अक्सफोर्ड–अस्ट्राजेनेकाको खोप नै लगाउने तयारी छ । यो खोप सिरम इन्स्टिच्युट अफ इन्डियाले कोभिसिल्डका नाममा उत्पादन गरिरहेको छ ।
कोभ्याक्सअन्तर्गत अक्सफोर्ड अस्ट्राजेनेका खोप तीन प्रतिशत जनसंख्याका लागि करिब २२ लाख ५६ हजार मात्रा दुई सातापछि नेपाल आउन लागेको छ ।
सरकारले भारत सरकारसँग किन्ने तयारी गरेको छ । हाल चीनको सरकारी कम्पनी ‘सिनोफार्म’ द्वारा निर्मित र भारतको सरकारी कम्पनी भारत बायोटेकले निर्माण गरेको कोभाक्सिन खोपपनि भित्राउने सरकारको तयारी छ । चीनले ५ लाख मात्रा खोप अनुदानका रूपमा दिने घोषणा गरिसकेको छ ।