प्रधानमन्त्री ओलीको ३ वर्षे कार्यकाल पूरा, आफ्नै पार्टीका नेताद्वारा विरोध
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ३ वर्षको कार्यकाल पूरा गरेका छन्। विं.सं. २०७४ साल फागुन ३ गते बहुमत प्राप्त जनादेशसहित उनी प्रधानमन्त्री बनेका थिए।
३ वर्षको कार्यकाल पूरा गरेको अवसरमा प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित आफ्नो कार्यलयबाट पत्रकार सम्मेलन गरेका थिए। सम्मेलनमा बोल्दै उनले आफ्नो कार्यकालमा भएका विकास तथा सरकारको आगामी दिनमा गर्ने कार्य योजनाबारे जानकारी दिए।
यस क्रममा प्रधानमन्त्री ओलीले आगामी वैशाखमा हुने निर्वाचनका लागि तीव्र गतिमा काम भइरहेको बताए। उनले वैशाखमा पहिलो चरणमा ४० जिल्ला र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन गर्ने तयारी भएको बताएका हुन्।
प्रधानमन्त्री ओलीले आगामी निर्वाचनका लागि विदेशमा भएका सबै नेपालीहरूलाई समेत उपस्थित हुन आग्रह गरे। पत्रकार सम्मेलनमा बोल्दै आगामी निर्वाचनका लागि आफै निर्वाचन आयोगमा गएर तयारीबारे बुझ्दै आएको बताएका थिए। प्रधानमन्त्री ओलीले भने, ‘वैशाख १७ र २७ गते हुन लागेको निर्वाचनबारे म आफै निर्वाचन आयोगमा गएर बुझेको छु, ताजा जनादेशका लागि निर्वाचन हुन्छ, सबै सहभागी बनौँ।’
गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै प्रधानमन्त्री ओलीले निर्वाचन गर्न समयावधि तोकेका थिए। प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालतमा बहस हुँदै आएको छ। सर्वोच्च अदालतको फैसलाबिना सरकारले आगामी काम कारबाही गर्न नसक्ने बताउँदै आए पनि प्रधानमन्त्रीले निर्वाचन गर्ने तयारी तीव्र गतिमा गर्दै आएका छन्।
निर्वाचनको दिन नजिकिँदै गर्दा प्रधानमन्त्रीकै पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरूले संसद पुर्नस्थापन हुनु पर्ने माग राख्दै आन्दोलन गर्दै आइरहेका छन्।
यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित अन्य साना दलहरूले पनि संसद पुर्नस्थापनको माग गर्दै आन्दोलन गर्दै आइरहेको छ।