प्रदेशमा अस्थिरता फैलाउन खोजिएको हो: मुख्यमन्त्री राई
काठमाडौँ । प्रदेश सभाको तेस्रो वार्षिक उत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा आफूविरुद्घ दर्ता भएको अविश्वासको प्रस्तावलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जनताको विश्वासमा तातो पानी खन्याउने काम भएको टिप्पणी गरेका छन्।
आफूमाथि अविश्वास प्रस्ताव दायर गरी प्रदेशमा अस्थिरता सिर्जना गर्न खोजिएको उनले आरोप लगाएका छन्। यस कामले जनताको विश्वासमा तातो पानी खन्याउने काम गरेको उनले बताएका हुन्। मुख्यमन्त्री राईले विपक्षीको उक्त कदमलाई जनविरोधी हर्कतको संज्ञा दिँदै यसविरुद्घ एकजुट हुन आह्वान गरेका छन्। उनले भने, ‘प्रदेशमा जनातामा पैदा भएको विश्वास, उत्साह र आशामा तातो पानी खन्याउदै संविधान र संघीयतालाई नै कमजोर बनाउने गलत प्रयास भएको छ। मुख्यमन्त्रीको विरुद्घ आएको अविश्वासको प्रस्तावलाई हामीले सामना गर्नुपर्ने भएको छ।’
नेकपा प्रचण्ड–माधव समूहले प्रदेशसभामा मुख्यमन्त्रीविरुद्घ अविश्वासको प्रस्ताव दर्ता गराएको हो। सो प्रस्तावमाथि प्रदेश सभामा छलफल हुन भने सकेको छैन।