प्रधानमन्त्रीले गरे सिंहदरबारको तीन मोहडाको उदघाटन
काठमाडौ । विक्रम सम्बत २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पुनःनिर्माण सम्पन्न भएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा पुनःनिर्माण सम्पन्न पश्चिमबाहेकका तीनवटा मोहडाको प्रधानमन्त्री केपी ओलीले सोमबार उ्दघाटन गरे । उदघाटनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सोही भवनमा सरेको छ । भूकम्पले भवन क्षतिग्रस्त भएपछि देशको प्रमुख कार्यकारीको कार्यालय सिंहदरबार परिसरकै तत्कालीन स्थानीय विकास मन्त्रालय रहेको भवनमा सारिएको थियो । प्रबलीकरणमार्फत भवनलाई भूकम्पबाट सुरक्षितरूपमा पुनःनिर्माण गरिएको छ छ । दुई चरणमा ठेक्का व्यवस्थापनमार्फत् यी मोहडाको पुनःनिर्माणमा ८७ करोड खर्च भएको छ ।
उत्तर, दक्षिण र पूर्व खण्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्रीजस्तै सिमेन्ट, बालुवा, छड, ‘बोण्डिङ केमिकल’ प्रयोग गरी पुरानै स्वरूप नबिग्रिने गरी प्रबलीकरण गरिएको छ । पश्चिम मोहडाको पुरानै प्रविधि तथा निर्माण सामग्री प्रयोग गरी प्रबलीकरण भइरहेको छ । २०७६ असोज २७ गतेदेखि शुरु भएको पश्चिम मोहडाको पुनःनिर्माणको हालसम्म ५० प्रतिशत पुरा भएको छ । सो भागको प्रबलीकरण ४६ करोड ८८ लाखमा भैरहेको छ ।