केरुङ नाकामा आयात निर्यात सहज बनाउन तत्काल पहल गर्न कांग्रेसको माग
काठमाडौं । नेपाली कांग्रेसले उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङमा आयात(निर्यात सहज बनाउनका लागि तत्काल पहल गर्न सरकारसँग माग गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति प्रकाशित गर्दै नाका खोल्न सरकारको ध्यानाकर्षण गराएका हुन् । चिनियाँ पक्षसँग संवाद गरेर समस्याको समाधान खोज्न कांग्रेसले सरकारसमक्ष माग गरेको हो ।
तुलनात्मक रुपले स्थिति सहज बनेको अवस्थामा पनि उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङमा नागरिक र व्यवसायीहरूले दुःख पाइरहेको भन्दै कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको हो ।
कोरोना संक्रमण लगत्तै अन्तर्राष्ट्रिय सीमा नाकाहरूमा प्रवेशमा कडाई र आवागमन बन्द समेत गरिनु तत्कालको आवश्यकता भएपनि अहिलेसम्म नाका सहज नहुनु दुःखद भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
केरुङ नाका अघिल्लो वर्ष माघ १५ देखि यो वर्षको असार २७ सम्म पूर्ण रूपले बन्द भएको थियो । त्यसपछि सामान ढुवानी आंशिक खुला गरिएकोमा हाल दैनिक ५ कन्टेनरले मात्र प्रवेश पाउँदा १५ सय बढी कन्टेनर सीमामा अलपत्र परेका छन् ।
यसले नेपाली व्यवसायीहरू मर्कामा पर्नुका साथै राजस्व संकलनमा पनि असर पुगेको भन्दै कांग्रेसले चिन्ता प्रकट गरेको छ ।
हेर्नुहाेस् विज्ञप्ति