श्रीमानको शव फेला, श्रीमतीको मुखभरि विष-अवस्था गम्भीर
काठमाडौं। उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ११ गाईघाट शिवालय टोलमा शनिबार बिहान एक पुरुषको हत्या भएको छ। घटनामा उनकी श्रीमतीको अवस्था रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शिवालय टोलका ६६ वर्षीय वीरेन्द्र राईको हत्या भएको हो।
घरको माथिल्लो तलाको कोठामा राई मृत फेला परेका र उनको शरीरभरि विभिन्न स्थानमा निलडाम र चोट रहेको प्रहरी उपरीक्षक (एसपी) भीमप्रसाद दाहालले बताए। यस्तै, मृतककी श्रीमती ५४ वर्षीय रीता राईको मुखमा विष दलिएको र बेहोस अवस्थामा घर नजिकै बारीमा फेला परेपछि अहिले उपचारका लागि विराटनगर पठाइएको प्रहरी प्रमुख दाहालले जानकारी दिए।
प्रहरीका अनुसार राईलाई केही व्यक्तिहरुका समूहले आएर राति नै हत्या गरेको र उनकी श्रीमतीलाई विष खुवाएर बेहोस बनाएर फालेर प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धानबाट अनुमान गरेको छ। केही व्यक्तिहरुसँग निजकी श्रीमतीको झगडा परेको र कुटपिटसमेत भएको भन्ने छिमेकीको सूचनाका आधारमा प्रहरी आज बिहानै राईको घरमा पुगेको थियो।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ।