बाबुरामसँग एउटै मोर्चामा हिँड्नुपर्ने समय आयोः प्रचण्ड
काठमाडौँ । जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पुस्तक ‘गुमनाम आमाहरूको कथा’ विमोचन भएको छ।
बालुवाटार ब्याङक्वेटमा भएको पुस्तक विमोचनमा बोल्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुराम भट्टराईसँग पुनः एउटै मोर्चामा हिँड्नुपर्ने बेला आएको बताएका छन्।
हिजो लामो समय आफूहरु सँगै भएको बताउँदै उनले हिजोका तिनै दिनहरुले आफूहरुलाई एक हुन प्रेरित गरेको बताएका हुन्।
‘बाबुराम जी र म हिजो लामो समय सँगै थियौँ तर आज छैनौँ। तर पनि हिजोका दिनहरुले हामीलाई सँगै बनाउन प्रेरित गर्छ। फेरि इतिहासलाई समीक्षा गरेर एकै मोर्चामा हिँड्नु पर्छ भन्ने लाग्छ।’
बौद्धिकताको हिसाबले बाबुराम धेरै माथि भएको बताउँदै उनले भने, ‘अहिलेको प्रतिगमन विरुद्ध लड्न मोर्चा बनेकै छ। हामी त्यसका विरुद्ध लड्छौँ। संविधानको रक्षाको निम्ति यो पुस्तक विमोचन गर्ने दिन हो।’
फाइन प्रिन्टबाट प्रकाशित भट्टराईको पुस्तक अनुभूतिजन्य गैरआख्यान हो ।