बिहीबार, मंसिर १५, २०७९

सरकारले फाँसीवादी तरिका अपनाएको सन्देश दियो -सुरेन्द्र पाण्डे

फ्ल्यासन्युज नेपाल२०७७ माघ २९ गते १६:५९

काठमाडौँ । नेत्री रामकुमारी झाँक्रीको पक्राउको विषयलाई लिएर नेकपा प्रचण्ड-माधव समूहका नेता सुरेन्द्र पाण्डेले सरकारले फाँसीवादी तरिका अपनाउन खोजेको सन्देश दिएको टिप्पणी गरेका छन्।

नेता मात्रै नभएर रामकुमारी झाँक्री विधायक समेत भएकाले उनको पक्राउ लोकतन्त्रमाथिको धावा भएको पाण्डेले दाबी गरेका छन्। ‘मानिसहरूको मुख बन्द गरेर शासन चलाउने फाँसीवादी तरिका सुरु भयो। रामकुमारी झाँक्री स्वयं ल मेकर पनि हुनुहुन्छ। उहाँमाथि पक्राउ गरेर अब बाँकी कोही मानिस सुरक्षित छैन भन्ने सन्देश सरकारले दिएको छ। यो देशमा कोही पनि सुरक्षित छैन भन्ने सन्देश हो।’

संसद पुनःस्थापनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले रामकुमारी पूर्वसांसद नभएको नेता पाण्डेले तर्क गरेका छन्। ‘कानुन निर्मातामाथिको धावा लोकतन्त्रमाथिको प्रहार हो। कानुनी शासनको उल्लंघन हो।’, उनले भने।

सरकारले नागरिकको मुख बन्द गरेर शासन गर्ने पञ्चायती शैली अपनाएको बताउँदै पाण्डेले भने, ‘मुख बन्द गरेर, चुप लगाएर शासन गर्ने भन्ने कुरा पञ्चायत र राजतन्त्रले पनि नसकेर आफै समाप्त भएको इतिहास साक्षी छ। यो कदम जति निन्दा गरेपनि कम हुन्छ।’

नेकपाले अब सशक्त रूपमा यसको प्रतिवाद गर्ने उनले दाबी गरेका छन्।

तपाइँको प्रतिक्रिया