मैले सूर्यबाहेक अरूबाट चुनाव लडेको छैन -ओली
काठमाडौँ । वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको तयारीबारे जानकारी लिन भन्दै प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार निर्वाचन आयोग पुगेका हुन्। तर स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पार्टी आधिकारिकता र चुनाव चिह्न विवादका बारेमा समेत छलफल गरेका हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले निर्वाचन तयारीको ब्रिफिङ लिई बाँकी काम पनि निरन्तर अगाडि बढाउन आग्रह गरेका छन्।
थापाले प्रधानमन्त्री निर्वाचन आयोग जानुको उद्देश्य पार्टीको आधिकारिकताको विषयमा छलफल गर्नु नभएको दाबी गरिरहँदा ओली समूहका नेता सुवास नेम्वाङले निर्वाचनको तयारीबारे बुझ्न जाँदा पार्टी वैधानिकताबारे थोरै कुराकानी भएको बताएका हुन्।
नेता नेम्वाङले भने, ‘कुरा हुँदै जाँदा निर्वाचन चिह्नबारे प्रधानमन्त्रीले थोरै बोल्नुभयो, तर यसै प्रयोजनका लागि गएको भने होइन।’ स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफूले सूर्यबाहेक अर्को चुनाव चिह्नबाट कहिल्यै नलडेको बताउँदै भने, ‘कहिल्यै सूर्य चिह्नबाट चुनाव नलडेको प्रचण्ड र मेरा बीचमा सहमति भयो, हामीले एकता गर्यौँ। एकताको प्रक्रिया टुंगिन पाएकै थिएन, दुर्भाग्यपूर्ण अवस्था आयो। पार्टी एकता गर्दा चिह्न सूर्य नै राख्नुपर्छ भन्ने पनि मै हुँ। अब मैले चुनावमा जाँदा पार्टी नभएको, निर्वाचन चिह्न नभएको भन्ने अवस्था त कसरी आउन मिल्छ र? मैले त आजसम्म सूर्यबाहेक अरुबाट चुनाव लडेको छैन।’
आयोगमा विचाराधिन रहेको पार्टी आधिकारिकताको विषयमा ओली र प्रचण्ड पक्षको भने आ-आफ्नै किसिमको मत छ। दुवै पक्षले आफूहरू नै मूल पार्टी भएको दाबी गर्दै आएका छन्।