आइतबार, असोज १६, २०७९

कोरोना परीक्षण सरकारी अस्पतालमा निशुल्क, निजीमा एक हजार शुल्क ताेकियाे

फ्ल्यासन्युज नेपाल२०७७ माघ २९ गते ८:४२

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितहरुको उपचार सरकारी अस्पतालमा मात्र निशुल्क हुने बताएको छ।

संक्रमितहरुको संख्या दिनहुँ घट्न थालेपछि मन्त्रालयले कोरोनाको उपचार सरकारी अस्पतालमा मात्र निशुल्क हुने बताएको हो। अबदेखि निजी अस्पतालहरुको बिलभर्पाइ सरकारले बेहोर्दैन। मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले संक्रमितको संख्या घटेकाले सरकारी अस्पतालमा मात्र उपचार गर्दा निशुल्क हुने जानकारी दिए।

गौतमका अनुसार मन्त्रालयले कोरोना परीक्षणको शुल्क पनि दुई हजारबाट घटाएर एक हजार मात्र पुर्याएको छ।

अबदेखि कोरोना परीक्षणको शुल्क सरकारी तथा निजी प्रयोगशालामा एक हजार तिर्दा हुन्छ। यसअघि सूचीकृत निजी अस्पताल तथा मेडिकल कलेजहरुमा भर्ना भई उपचार गरेकाहरुको हकमा बुधबारबाट १० दिनसम्मको मात्रै सोधभर्ना गर्नेछ।

प्रवक्ता गौतमका अनुसार स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीको उपस्थितिमा बसेको आइसिएस कमाण्ड बैठकले कोरोनाको उपचारका लागि सूचिकृत निजी अस्पताल तथा मेडिकल कलेजबाट गर्ने प्रक्रिया समेत स्थगित गरी सरकारीमा मात्रै गर्ने निर्णय गरेको हो।

कोरोना भाइरस विरुद्धको दोस्रो अभियान अन्तर्गत बुधबार २६९ जना पत्रकार र १४० जना कुटनीतिक नियोगका कर्मचारीहरुले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

तपाइँको प्रतिक्रिया