मंगलबार, जेठ १६, २०८०

जुलुस सुरु हुँदै गर्दा नै राजधानीको ट्राफिक अस्तव्यस्त

फ्ल्यासन्युज नेपाल२०७७ माघ २८ गते ११:२४

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आज बुधबार बृहत् आमसभाको लागि जुलुस सुरू गरेको छ। जुलुस सुरु हुँदै गर्दा नै राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भइसकेको छ। देशभरबाट दुई लाखभन्दा बढी कार्यकर्ता राजधानीमा उतार्ने यो समूहले दाबी गरेको छ।

विभाजनको औपचारिक घोषणा हुन बाँकी रहँदा नेकपाका दुई समूह अहिले प्रदर्शन र सभाको होडबाजीमा छन्। दाहाल–नेपाल समूहले माघ २८ गते दुई लाख मानिस ल्याएर आम सभा गरी प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरीत कार्य गरेको भन्दै खबरदारी गर्ने जनाएको छ। देशव्यापी रूपमा चरणबद्घ आन्दोलन गर्दै आएको दाहाल-नेपाल समूहले तेस्रो चरणको संघर्षको कार्यक्रमअन्तर्गत राजधानीमा बृहत् आमसभा गरेको हो।

सुन्धाराबाट मध्याह्न १२ बजे मूल जुलुस निकाली पुलचोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट सहायक जुलुस निकालिने संघर्ष समितिका सचिव सूर्य सुवेदीले बताएका छन्। उनका अनुसार पुल्चोकबाट रघुजी पन्त, कृष्णबहादुर महरा, पम्फा भुसाल र प्रमेश हमालको नेतृत्वमा सुरु हुने जुलुस कुपण्डोल–थापाथली–त्रिपुरेश्वर हुँदै सुन्धाराको मूल जुलुसमा मिसिनेछ भने ललितपुरका केन्द्रीय सदस्य, प्रदेश कमिटी, संघ र प्रदेशका सांसदहरू पनि त्यो जुलुसमा सहभागी हुनेछन्।

त्यस्तै, स्थायी समिति सदस्यहरू सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनाद्र्धन शर्मा, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन र विष्णुपुकार श्रेष्ठलगायतलको नेतृत्वमा त्रिपुरेश्वरबाट सहायक जुलुस निस्किने छ भने माइतीघरबाट सुरु हुने जुलुसको नेतृत्व अमृतकुमार बोहरा, भीम आचार्य, गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव र हरिबोल गजुरेललगायत नेताले गर्नेछन्।

केशरमहलबाट दरबारमार्ग, जमल, कमलादी, असन, इन्द्रचोक, न्यूरोड हुँदै सुनधारा पुग्ने जुलुसको नेतृत्व भीमबहादुर रावल, देवप्रसाद गुरुङ, शक्ति बस्नेत, देवेन्द्र पौडेललगायत नेताले गर्नेछन्। जमलबाट सुरु भई कमलाक्षी, असन, इन्द्रचोक, न्युरोड हुँदै सुन्धारा पुग्ने जुलुसको नेतृत्व लीलामणि पोखरेलसहित केन्द्रीय सदस्यहरूले गर्नेछन्।

सम्पूर्ण सहायक जुलुस सुन्धाराको मूल जुलुसमा गई मिसिने छन्। जुलुस एकीकृत भइसकेपछि वीर अस्पताल, जमल, घण्टाघर, बागबजार, पुतलीसडक, पदमोदय मोड हुँदै गत १४ माघमा जस्तै प्रदर्शनीमार्गमा पुगेर सभामा परिणत हुनेछ। यसअघि ओली समूहले काठमाडौँका १६ स्थानबाट जुलुस निकालेको थियो।

दाहाल–नेपाल समूहले काठमाडौंमा आफ्नो शक्ति प्रदर्शनका लागि देशभरबाट नेता–कार्यकर्ता र शुभेच्छुकलाई काठमाडौँ बोलाएको हो।

तपाइँको प्रतिक्रिया