वसन्तपुरबाट ‘जनताको आवाज’ बोलिरहेका कविताहरू
मंगलबार दिउँसो वसन्तपुर डबलीमा ‘न्यायका लागि कविता’ नामक ब्यानरमा युवाहरूले कविता वाचन गरेका छन्। कार्यक्रममा ‘न्यायका लागि कविता’ नामक ब्यानरमा भएको थियो।
अन्शु खनालबाट सुरु भएको कविता वाचनमा कपिल चौलागाईं, निर्भीकजंग रायमाझी, महावीर विश्वकर्मा, सुनिल आङ्बो, समर्पण श्री, स्मृति रानाभाट, पवन ढुंगाना, प्रज्वल अधिकारी, प्रभात तिमिल्सिना, राजु झल्लु प्रसाद, रसिक राज, कपिल चौलागाईं, बच्चु हिमांशु, राजु स्याङ्तान, सारस चरी, लक्ष्मी रुम्बा, प्रेमिला राईलगायत २० युवाले एक–एक थान कविता सुनाए।
मंगलबार दिउँसो भएको कवितालाई सडक कविताकै झल्को मान्न सकिने अग्रज लेखक एवं साहित्यकार बताउँछन्। २०३६ सालमा भएको ‘सडक कविता क्रान्ति’लाई नेपाली साहित्यमा महत्त्वपूर्ण घटनाका रूपमा लिइन्छ। त्यतिबेलाको आन्दोलनले जनवादी कवि तथा राजावादी कविहरूको दुई धार नै छुट्याएको थियो। चर्चित कविहरू हरिभक्त कटुवाल, मोहन कोइराला, भवानी घिमिरेलगायतका स्रष्टा स्वतन्त्रताको पक्षमा खुलेर सडकमा आएका थिए । उनीहरूले दुई महिनासम्म सडकमै रहेर कवि सुनाउँदै पञ्चायत सत्तालाई चुनौती दिएका थिए।
मंगलबार ०३६ सालकै झल्को आउने गरी कविता सुनाउने कविहरू २५ देखि ३० वर्ष उमेर–समूहका थिए। उनीहरूमध्ये अधिकांश विश्वविद्यालय तह अध्ययन गरिहेको पुस्ता थियो। युवा कविलाई सुन्न चर्चित कविहरू पनि मंगलबार दिउँसो वसन्तपुर डबली पुगे । कवि श्रवण मुकारूङ, स्वप्नील स्मृति, चन्द्रवीर तुम्बापो, विमला तुम्खेवा तथा लखेकहरू राजन मुकारूङ, सञ्जीव उप्रेतीलगायत स्थापित साहित्यकार युवा पुस्तालाई साथ दिन दर्शक दीर्घामा बसे।
कवि स्मृति रानाभाटले ‘मलाई रातो रंग मन पर्दैन’ शीषर्कको कविता सुनाउँदा कपिल चौलागाईले ‘महाराजलाई बिन्तीपत्र’ कविता पढ्दै लोकतन्त्रका नयाँ महाराजहरूमाथि व्यंग्य गरे। सुनिल लिम्बुले ‘क्रान्तिको आवाज बोल्’ सुनाइरहँदा राजु स्याङ्तानले ‘गुमनाम ताराहरू’मार्फत भुइँमान्छेको शक्ति बताइरहेका थिए। कवि निर्भिकजंग रायामाझीले ‘शितलनिवासको गर्मी’ शीर्षकको कविता सुनाउँदा कवि रसिक राज ‘आवाज’ शीर्षकको कविता सुनाइरहेका थिए।
कवि विवश बाबुले कवितामार्फत् आवाजहरूलाई बाहिर निस्कन प्रेरित गर्दै थिए,–
आवाजहरू, ओ आवाजहरू
अनुहारको कुन तप्काभित्र बसिरहेछौ
बाहिर निस्क
ओ आवाजहरू
बाहिर तिम्रो मुखुण्डोलाई नैतिक शिक्षा पढाउने गुरु
तिम्रै आमाको तिघ्रा कल्पिरहन्छ..
युवा कविहरूका कवितामा यौनिक हिंसा र बलात्कारविरुद्धका आवाज मुखरित भएका देखिन्थे। डबलीमा ‘मलाई रातो रङ मन पर्दैन’ कवितामार्फत् कवि स्मृति रानाभाटले भनिन्–
आज त्यही छट्पटाएको छ मेरो आत्मा
जहाँ म सर्वश्व गुमाएर सक्किएको थिए
त्यहीँ नजिक पिपलको हाँगामा
झुण्डिएको छ देशको झण्डा जस्तै रातो कपडा
जसमा अझै देख्छु
मेरो शरिरबाट अन्तिम थोपा बगेको
रातो रगतको निसानी जस्तै
रगतको रातो टाटो।
आफ्ना कवितामार्फत पवन ढुंगाना ‘समय रोकिएको छैन’ शीर्षकको कवितामार्फत भन्दै थिए,
मलाई थाहा छ –
समय रोकिएको छैन।
म ब्युँझन्छु
उठ्छु
जुट्छु
उसैगरी मुठ्ठी कस्छु
र, प्रहार गर्छु
तिम्रो निरंकुश सत्तालाई।
आन्दोलनमा कवि समर्पण श्री ‘जब शासक ढालिनेछ’ शीर्षकको कविता वाचन गरेका थिए,,
चिहानबाट एकाएक उठेर
तिम्रो दरबारतर्फ आइरहेका छौं
सिंहासनबाट हेर
यो जुलुस ज्यूँदाहरूको होइन
आफ्नै हत्याराको खोजीमा हिंडिरहेका लासहरुको हो
यसैगरी, कवितामार्फत फेरीफेरी सडकमा आउन नपरोस भनेर यसपटक सडकमा आएको बताउँदै थिए कवि कपिल मौन;
राखेर, लोकतन्त्रको आस्था छातीमा
पोतेर निधारभरी बिद्रोहको रँग
म आइपुगेको छु तिम्रो दरबार अगाडि
बस् यत्तिकुरा ख्याल राख्नु कि
र यसपटक यसरी आएको छु कि
फेरि कोहि यसैगरी आउनु नपरोस्
क्रान्ति पहिले इतिहासको पुनार्वालोकन महत्वपूर्ण हुने भाव सहितको कवितामार्फत कवि राजु झल्लु प्रसादको ‘बुख्याँचा इतिहास’को गल्तिहरू केलाईरहेका थिए,
इतिहासले गाजल लगाएको हुनसक्छ,
नङ्ग्रा बढाएको हुनसक्छ,
कानेगुजी कोट्टाइरहेको हुनसक्छ,
आँखा चिम्लिएको हुनसक्छ,
-इतिहासले काँचुली फेरेको हुनसक्छ।
इतिहास तीर्थको जल होइन,
झटपट अञ्जुलीमा नभर।
इतिहास आस्थाको मूर्ति होइन,
झटपट श्रद्धावान्तीत मुन्टो नझुकाउ।
इतिहास पिँजडा होइन,
झटपट ढोका नउघार।
कार्यक्रम संचालन गरिरहेका हिमांशु विनोदविक्रम केसीको कवितामार्फत भन्दै थिए,
मेरो टाउको देशभरिका लठ्ठी खान तयार छ
ढाड संसारभरिका बुट खान तयार छ
छाती दुनियाँभरिका गोली खान तयार छ
मस्तिष्क पृथ्वीभरिका झ्यालखानाका हावा खान तयार छ
मन ब्रहृमाण्डभरिका मृत्युलाई म्वाई खान
तयार छ
तर, म
तानाशाहसँग हार खाएर
इतिहासको गाली खान तयार छैन ।”
-विनोद विक्रम केसी
कवि प्रभात तिमिल्सिना ‘आवाज’ शिर्षकको कवितामार्फत व्यवस्थाको जकडबाट उम्कन अभिप्रेरित गरिरहेका थिए,
यो व्यवस्थाको जकडमा तिमी पर्नेछौ !
तिमिले भुल्नु पर्नेछ आफ्नो शब्दहिन जिवनको भाषा !
तिमिले बुझ्नेछौ दुनियाँमा बाच्नका लागि
धेरै सुन्दर चिजहरु भुल्नु पर्नेछ !
हिजोको जनआन्दोनमा नागरिक अगुवाहरूले जसरी नेतृत्व गरिरहेका थिए, अब अग्रगमनका निम्ति युवाहरू नै जाग्नुपर्ने कवि नवीन प्यासीको मत थियो। अहिले प्रेम दिवसको सप्ताह चलिरहेको बेला आफूहरू शासकको स्वेच्छाचारिताविरुद्ध सडकमा आउन बाध्य भएको उनले बताए। ‘यो डबलीमा कोही साथीहरू डेटिङ पनि आउनुभएको छ। तर, यतिबेला हामी युवाहरू प्रतिगमनविरुद्ध सडकमा ओर्लिरहेका छौं । यो जरुरी पनि छ, प्यासीले भने।
युवाहरूको कविता सुनेर निकै उत्साहित भएको बताउँदै कवि श्रवण मुकारूङले प्रत्येक परिवर्तनमा युवा पुस्ताको अग्रणी भूमिका रहने अभिव्यक्ति दिए । कविताले सधैं जनताकै आवाज बोल्नुपर्ने मान्यता राख्ने मुकारूङले भने, ‘राजनीतिक मात्र होइन वैचारिक स्वर बोकेका कविता पनि आजका युवाले लेखेका छन् ।’
युवाहरूको कविता सुनिरहेका नागरिक अभियन्ता एवं प्राध्यापक विमल अर्यालले नयाँ पुस्तामा प्रतिरोध गर्ने क्षमता बढ्दै गएको टिप्पणी गरे। कविता सुनेपछि प्रतिक्रिया दिँदै अर्याल भने, ‘युवाहरूको कविताले आफ्नो युगका विसंगतिमाथि सार्थक प्रश्न बोकेको पाइन्छ। जुन प्रश्नको जिम्मेवारी आजको नेतृत्वले लिनुपर्छ।’
अभियन्ता जेबी विश्वकर्माले युवाका कविता हस्तक्षेपकारी भएको बताए। उनी भन्छन्, ‘प्रत्येक युवाभित्र प्रश्न बोकेका रापिला कविता छन्। ती कविताको स्वरलाई कुनै पनि तवरले कमजोर आँक्न मिल्दैन।’
युवाहरूका कविता सुन्न वसन्तपुर डबलीमा आएका पर्यटक पनि कार्यक्रम स्थल वरपर देखिन्थे। उनीहरू आफ्ना मोबाइल फोनमार्फत युवाका कविता खिचिरहेका थिए।