मंगलबार, जेठ १६, २०८०

ट्रम्पमाथिको महाभियोगबारे सुनुवाइले निरन्तरता पाउने

फ्ल्यासन्युज नेपाल२०७७ माघ २८ गते ९:४५

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध दोस्रो महाभियोगबारे सुनुवाइले निरन्तरता पाउने भएको छ । सिनेटमा भएको मतदानमा ट्रम्पविरुद्धको महाअभियोगबार सुनुवाइ गर्नु संवैधानिक भएको घोषित भएपछि सुनुवाइले निरन्तरता पाउने भएको हो ।

महाभियोगको सुनुुवाइ प्रक्रिया अघि बढाउने पक्षमा डेमोक्र्याटिक पार्टीका सबै ५० तथा रिपब्लिकन ६ सिनेटरले मत दिएका थिए भने विपक्षमा ४४ मत परेको थियो ।

सुनुवाइ प्रक्रिया अघि बढे पनि सिनेटले ट्रम्पलाई दोषी ठहर गर्ने सम्भावना भने कम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दोषी ठहर हुनका लागि १७ रिपब्लिकन सिनेटरको साथ चाहिन्छ, जुन अहिलेको अवस्था हेर्दा त्यति सम्भव देखिएको छैन ।

अमेरिकाका राष्ट्रपतिमाथि एकै कार्यकालमा दुई पटक महाभियोग दर्ता भएको यो पहिलो घटना हो । पूर्व राष्ट्रपति ट्रम्पका तर्फबाट सिनेटमा जवाफ दिन नियुक्त वकीलहरुले सिनेटमा विचाराधीन महाभियोग प्रस्ताव राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको आरोप लगाएका छन् ।

तर महाभियोग दर्ता गरेको डेमोक्रेटिक पार्टीले भने अमेरिकी संसद भवनमा गत जनवरी ६ का दिन आक्रमण गर्न आफ्ना समर्थकलाई उक्साएर सत्ताविद्रोह गर्न खोजेको बताएका छन् । उक्त घटनामा एक प्रहरी अधिकृत सहित पाँच जनाको मृत्यु भएको थियो भने संसद भवनभित्र व्यापक तोडफोड र क्षति पुगेको थियो ।

 

तपाइँको प्रतिक्रिया