निर्वाचनको तयारी र नेकपा विवादबारे छलफल गर्न प्रधानमन्त्री ओली आयोग जाँदै
फ्ल्यासन्युज नेपाल२०७७ माघ २७ गते ७:४८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओली आज निर्वाचन आयोग जाँदैछन् । निर्वाचन तयारी र आफ्नो पार्टी नेकपाभित्रको विवादलगायतका विषयमा कुराकानी गर्न प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार निर्वाचन आयोग जान लागेका हुन् ।
लगत्तै पार्टीको आधिकारिकता दाबी गर्न नेकपाका पुष्पकमल दाहाल र माधव नेपाललगायतका नेताहरू आयोग पुगेका थिए । प्रधानमन्त्री ओली भने पार्टीमा विवाद सुरु भएपछि आयोग गएका छैनन् ।
ओली जसरी पनि निर्वाचनमा जानुपर्ने पक्षमा छन् । त्यसैले उनले आयोगले चुनावी कार्यक्रम अघि बढाउनुपर्ने धारणा राखिरहेका छन् । यसै सन्दर्भमा चुनावका कार्यक्रमलगायत विषयमा आयोगको ध्यानाकर्षण गराउन उनी आयोग पुग्न लागेको स्रोतले जनाएको छ । बिहान ११ बजे ओली आयोग जाने तयारी छ ।