दोस्रो प्राथमिकता समुहलाई कोरोनाविरुद्धको खोप लगाइदै
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणको कोभिड १९ विरुद्धको खोप कार्यक्रम अन्तर्गत दोश्रो प्राथमिकता समुहलाई आजबाट खोप लगाउन सुरु गर्दैछ । आजदेखि पत्रकार, संयुक्त राष्ट्रसंघीय एजेन्सी, दुतावास तथा कुटनीतिक नियोगका कर्मचारीलाई कोरोनाविरुद्धको खोप दिईदैछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीर अधिकारीले पहिलो चरणको खोप अभियान अन्तर्गत प्राथमिकताका आधारमा दोस्रो समुहका व्यक्तिलाई खोप लगाउन लागेको जानकारी दिए। प्राथमिकताको पहिलो समुहमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई खोप दिने अभियान शनिबार सकिएको हो ।
मन्त्रालयका अनुसार सम्बन्धित व्यक्तिले तोकिएको अस्पतालमा आजदेखि शुक्रबारसम्म खोप लिन सक्नेछन् । पत्रकारका लागि काठमाडौंको मीनभवनस्थित निजामती कर्मचारी अस्पताल, युएनका लागि पाटन अस्पताल, दुतावास र कुटनीतिक नियोगका कर्मचारीका लागि त्रिवि शिक्षण अस्पताल वा गंगालाल अस्पताल लगायत तोकिएको खोप केन्द्रको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
पत्रकारहरुका लागि सूचना विभागको प्रेस पास अनिवार्य गरिएको छ । पाँच दिनको अवधिमा १३ हजार बढी पत्रकारलाई समेट्ने सहप्रवक्ता अधिकारीले बताउनुभयो । करिब १० हजारको संख्यामा रहेका युएन एजेन्सी, दुतावास तथा कुटनीतिक नियोगका कर्मचारीलाई पनि कोभिड १९ खोप दिने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले पहिलो प्राथमिकतामा परेका मध्ये १ लाख ८४ हजारले खोप लगाइसकेको छ । यो लक्ष्यभन्दा निकै कम हो । नयाँ खोप प्रति विश्वस्त हुन नसकेका कारण खोप लगाउन उत्साहित हुन नसकेको विश्लेषण गरिएको छ । स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख झलक शर्माका अनुसार नयाँ खोप भएकाले मानिसमा केही शंका हुनु सामान्य भएपनि कयांै अनुसन्धान पछि बनेको खोप प्रति विश्वस्त हुन आग्रह गरेको छ ।