शुक्रबार, असोज २१, २०७९

सरकारी पक्षलाई माघ ३० गतेभित्र बहस सक्न प्रधानन्यायाधीशको आग्रह

फ्ल्यासन्युज नेपाल२०७७ माघ २५ गते १८:२२

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संसद विघटन विरुद्धको मुद्दामा आफ्नो बहस माघ ३० गते भित्र सक्न सरकारी पक्षलाई आग्रह गरेका छन् ।

संसद विघटन मुद्दामा दर्ता भएका १३ वटा रिटमा विपक्षी बनाइएका राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिरिषद कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीसहितका विपक्षीका कानुन व्यवसायीलाई आउँदो शुक्रबारसम्म बहस सक्न आग्रह गरेका हुन् ।

आइतबार प्रधानमन्त्रीको प्रतिरक्षाका लागि आएका अधिवक्ता रमेश बडालसँग जबराले माघ ३० गतेभित्र विपक्षीका तर्फबाट बहस सक्न आग्रह गरे । तर अधिवक्ता बडालले प्रधानमन्त्रीको तर्फबाट बहस सक्ने बताएपछि प्रधानन्यायाधीश जबराले प्रधानमन्त्री मात्र नभई सबै विपक्षीको तर्फबाट बहस यो हप्ताभरिमा सक्नुपर्ने बताए ।

सरकारी पक्षलाई यसअघि समय नतोके पनि अब समय कम भएकाले निश्चित समय तोक्नुपरेको प्रधानन्यायाधीशले बताए । रिट निवेदकमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री, सभामुखलगायतलाई विपक्षी बनाइएको छ ।

आजसम्म संसद विघटनको प्रतिरक्षामा सरकारी पक्षबाट सरकारी वकिलले मात्र बहस सकेका छन् । आजदेखि संसद विघटनको रिटमा सरकारको प्रतिरक्षा गर्न वकालतनामा लेखाएका निजी कानुन व्यवसायीले बहस शुरु गरेका छन् ।

तपाइँको प्रतिक्रिया