बिहीबार, मंसिर १४, २०८०

किशोरीको ‘बलात्कारपछि हत्या’ प्रकरण : गाउँ नै शोकमग्न

फ्ल्यासन्युज नेपाल२०७७ माघ २५ गते १०:११

बैतडी । दोगडा–केदार गाउँपालिका वडानम्बर ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव फेला परेपछि सिंगाे गाउँ नै शोकमग्न बनेको छ। विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी गर्ने क्रममा बिहीबार साँझ स्थानीय लबलेक जंगलमा उनको शव फेला परेको थियो।

मृतकका बुबाको २ महिनाअघि मृत्यु भएको थियो भने दाजु रोजगारीको सिलसिलामा भारतको दिल्लीमा छन्। काखको छोरी गुमाउँदा मृतककी आमा द्रोपती पीडामा छिन्। श्रीमान् बितेको पीडामै रहेकी द्रोपतीलाई सन्तान गुमाउँदाको पीडाले झनै थिचेको छ ।

बीभत्स अवस्थामा फेला परेकी भागरथीको बलात्कार गरी हत्या गरिएको आफन्तकाे आशंका छ । कपडा च्यातिएको, शरीरमा नीलडाम, घाउ, यौनांगमा रगत र घाँटी निमोठेको अवस्थामा शव फेला परेपछि बलात्कारपछि हत्या भएको हुनसक्ने मृतकका काका शिवराज भट्टकाे आशंका छ।

गाउँकी छोरीको हत्या भएपछि गाउँ नै शोकमग्न भएको स्थानीय शंकरदत्त भट्टको भनाइ छ । ‘विद्यालयबाट फर्किने वेला घटना भएको र यस घटनाले आफ्ना छोरी/चेलीलाई विद्यालय पठाउन मुस्किल देखिएको उनको भनाइ छ।

परिवारले शव बुझ्न मानेन

भागरथीको बलात्कारपछि हत्या भएको हुनसक्ने भन्दै परिवारले शव बुझ्न मानेको छैन । स्थानीयले अपराधी पत्ता नलागेकोले शव परीक्षण गरिए पनि नबुझेको बताएका छन् । मृतकको शव परीक्षणको रिपोर्ट एक–दुई दिनभित्रै आउने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी जानकारी दिए।

बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुमानअनुसार प्रहरीले घटना भएको क्षेत्रमा त्यो दिन हिँडडुल गर्नेहरुलाई सोधपुछ गरिरहेको छ । घटना शंकास्पद रहेकाले खोचलेक–चडेपानी सडकखण्डमा बुधबार र बिहीबार कुन–कुन सवारीसाधन सञ्चालन भएका थिए, ती सवारीसाधनमा आवतजावत गर्ने व्यक्तिलाई पनि सोधपुछ भइरहेको खोचलेक प्रहरी चौकीका इन्चार्ज मोती बमले जानकारी दिए। इन्चार्ज बमका अनुसार किशोरीका गाउँका विद्यार्थी र सँगै पढ्ने सहपाठीलाई पनि सोधपुछ गर्न लागिएकाे छ ।

प्रहरीले घटनालाई गम्भीर रूपमा लिएको र अनुसन्धान तीव्र पारिएको जनाएको छ । अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा छुट्टै प्रहरी टोलीले जिल्ला पुगेर काम शुरु गरिसकेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा प्रहरी टोली पुगेर अनुसन्धान अघि बढाइएको छ।

अनुसन्धानमा सघाउन एसएसपीको नेतृत्वमा छुट्टै प्राविधिक टोली पनि परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । टोलीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई खटाई अनुसन्धानमा प्राविधिक सहयोगका लागि छुट्टै टोली खटाइएको हो

जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढीबाट तालिम प्राप्त कुकुर मगाएर पनि अनुसन्धान अघि बढाइएको छ । भागरथीले प्रयोग गरेको मोबाइल पनि भेटिएकाले अनुसन्धानमा सहजता भइरहेको प्रहरीको भनाइ छ ।

तपाइँको प्रतिक्रिया