बिहीबार, चैत ९, २०७९

भागरथीको हत्यारालाई तत्काल कार्वाही गर्न नागरिक अगुवाको माग

फ्ल्यासन्युज नेपाल२०७७ माघ २५ गते १०:०८

काठमाडौं । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या भएको समाचारप्रति बृहत नागरिक आन्दोलनको तर्फबाट गम्भीर ध्यानकर्षण भएको जनाइएको छ। शनिबार बृहत नागारिक आन्दोलनका तर्फबाट युग पाठकले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएका छन्। जारी विज्ञप्तिमा यस्तोे दर्दनाक र जघन्य आपराधिक घटनाले सबैलाई मर्महात बनाएको बताउँदै घटनाको भर्त्सना गरिएको छ।

विज्ञप्तिमा भनिएको छः ‘यस्तो दर्दनाक र रजघन्य आपराधिक घटनाले हामी सबैलाई मर्माहत बनाएको छ। यसखाले निन्दनीय घटनाको हामी घोर भर्त्सना गर्दछौं। यस किसिमको मानवता विरोधी जघन्य अपराधको सरकारले अविलम्ब निष्पक्ष छानविन गरी घटनामा संलग्न दोषी पत्ता लगाई हदैसम्मको कारबाहरी गर्न बृहत नागरिक आन्दोलन सरकार र सम्बन्धित निकायहरुसँग जोडदार माग गर्दछ, साथै यसखाले जघन्य मानवअधिकार विरोधी घटनाहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंगठनहरुको समेत ध्यानाकर्षण होस् भन्ने विशेष आग्रह पनि गर्दछ।’

गत असोजमा बझाङमा सम्झना विकको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउँदै यस किसिमको घटना हुनुले राज्य महिला र बालिकामाथि हुने हिंसा र बलात्कार नियन्त्रणका लागि चरण असंवेदनशील र जवाफदेही नभएको पुष्टि भएको विज्ञप्तिमा जनाइएको छ। विज्ञप्तिमा कुनै पनि बहानामा घटनालाई ढाकछोप गर्ने, षडयन्त्रपूर्वक न्यायिक प्रक्रियामा तगारो हाल्ने, पीडकलाई छुट्कार दिने र पीडितलाई थप पीडा दिने काम नगर्न आग्रह गरिएको छ।

२०७७ माघ २० गते विद्यालयबाट फर्किने क्रममा बेपत्ता भएकी भागरथी माघ २२ गते साँझ घर नजिकैको जंगलमा हत्या गरिउको अवस्थामा भेटिएकी थिइन्। प्रहरीले उनको बलात्कारपछि हत्या भएको प्रारम्भिक निश्कर्ष निकालेको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

तपाइँको प्रतिक्रिया