सोमबार, चैत १३, २०७९

केही थान मान्छेहरूले पार्टी छाडेसँगै देश विकासको आधार बन्यो -ओली

फ्ल्यासन्युज नेपाल२०७७ माघ २३ गते १६:४८

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कोही भोकै बस्न नपर्ने र भोकै मर्न मर्न नपर्ने बताएका छन्। नारायणहिटी दरबार संग्रहालयको आँगनमा भएको आम सभामा बोल्दै उनले यस्तो बताएका हुन्।

यस्तै, प्रधानमन्त्री ओलीले सडकभरि भएका बालबालिकालाई सरकारले संरक्षण गरेको बताएका छन्। उनले भने, ‘सडकभरि भएका बालबालिकालाई अपमान गरी खाते भनिन्थ्यो, अब यो सबै सरकारले जिम्मेवारी लिएको छ।’

प्रधानमन्त्री ओलीले नेपालमा पहिलोपटक आफ्नो सरकारले रेल ल्याएको बताएका छन्। उनले आगामी दिनमा चीनबाट समेत रेल ल्याउने बताए।

सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पहिलोपटक सुरुङमार्ग, ठूला विकास आयोजनाहरू, झोलुङ्गे पुलको अन्त्य लगायतका काम भइरहेको बताएका छन्। यस्तै, कोरोना भाइरसका कारण देश विकासमा समस्य भए पनि समाधानको अवस्था पुगेको बताए।

यसैगरी, प्रधानमन्त्री ओलीले द्वन्द्वका कारण पीडित भएका सबै अनाथ व्यक्तिहरूको जिम्मेवारी सरकारले लिने बताए। विकासका विभिन्न प्रतिबद्घता जनाउँदै उनले भने, ‘तीन वर्षसम्म आयोगहरू बन्न सकेनन्, केही थान मान्छेहरूले पार्टी छाडेसँगै आयोगका सबै काम पूरा भए, यो नै देश विकासको आधार हो।’

तपाइँको प्रतिक्रिया