नेपाल बन्दसहितको आमहड्तालमा देशभर कहाँ-कहाँ के-के भए?
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहले आज बिहीबार नेपाल बन्दको घोषणा गरी देशव्यापी आमहड्ताल गरेको छ। बिहानैदेखि सुचारु हड्तालमा विभिन्न स्थानहरूमा प्रहरीसँग झडप भएको छ भने कतिपय स्थानबाट प्रहरीहरूले आन्दोलनकारीलाई नियन्त्रणमा समेत लिएका छन्।
काठमाडौँको कलंकीबाट नेकपा स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश इन्चार्ज समेत रहेकी नेतृ अष्टलक्ष्मी शाक्य सहितको टोलीलाई प्रहरीले बिहानै नियन्त्रणमा लिएको छ। चाबहिलमा नेकपा केन्द्रीय सदस्य कृष्ण के.सीसहितको टोलीलाई, बागबजारबाट युवा नेता रमेश मल्ल लगायतका विद्यार्थी नेताहरूलाई समेत प्रहरीले गिरफ्तार गरेको छ।
राजधानीभित्रबाट मात्रै ७२ जना नेता एवं कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। विभिन्न स्थानबाट गिरफ्तार गरिएका राजधानीभित्रका आन्दोलनकारीहरूलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा नियन्त्रणमा राखिएको छ।
त्यस्तै, नेकपा केन्द्रीय कमिटी सदस्य प्रतापलाल श्रेष्ठसहितको १६ जना कार्यकर्ताको टोलीलाई पनि प्रहरीले तनहुँबाट नियन्त्रणमा लिएको छ। वीरगञ्जबाट रामबाबु बैठा, रहबर अन्सारी लगायत ३५ जनालाई प्रहरीले गिरफ्तार गरेको छ। सिरहाबाट पनि विवेक परियार लगायतका टोली प्रहरी नियन्त्रणमा छन्।
जनकपुरमा आमहड्तालमा हिँडेको जुलुसमाथि प्रहरीले पछाडिबाट फायरिङ गर्दा नेकपा केन्द्रीय कमिटी सदस्य रामचन्द्र झा गम्भीर घाइते भएका छन्। उनको टाउकोमा तीन ठाउँमा चोट लागेको छ भने नेकपा स्थायी कमिटी सदस्य मात्रिका यादवको खुट्टामा चोट लागेको छ। झडपमा परी कारिराम यादव, उमेश साह लगायत अन्य गरी १० जना कार्यकर्ता घाइते भएका छन् भने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बारा जिल्लाबाट मुकेश साह, जवाहिर अन्सारीसहित ६ जना, विराटनगरबाट पारुल क्षेत्रीसहि ७ जना र कास्कीबाट विनायक तिमिल्सेनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
ठाउँ-ठाउँमा आन्दोलनकारीहरूले बन्दको अवज्ञा गर्नेहरूलाई कारबाही गर्दा जनधनको क्षति हुन पुगेको छ भने विभिन्न स्थानहरूमा सवारी साधन राम्रोसँग चल्न नसक्दा यातायात व्यवसायी र यात्रुहरूले समेत कष्ट भोग्नु परेको छ।
विस्तृत जानकारीः