बुधबार, मंसिर १३, २०८०

विप्लव नेता बाँस्तोलालाई छाड्न सर्वोच्चको आदेश, प्रहरीले गेटबाटै फेरि समात्यो

फ्ल्यासन्युज नेपाल२०७७ माघ २२ गते १८:५४

काठमाडौं। नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाइ सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिएको छ।बिहिबार सर्वोच्च अदालतले उनीमाथि प्रहरीले लगाएको आरोप पुष्टि नभएको भन्दै रिहा गर्न आदेश दिएको हो।

अदालतको आदेश लगत्तै छुटेका नेता बाँस्तोलालाई प्रहरीले फेरि पक्राउ गरेको छ। सर्वोच्चको आदेशलाइ लत्याउदै प्रहरीले बाँस्तोलालाई अदालतको गेटबाटै फेरि पक्राउ गरेको छ। उनलाई कमल पोखरी वृतमा लगिएको छ ।

आज अदालत उपस्थिति गराइएका बाँस्तोलालाई अदालतका रजिस्ट्रार र नेपाल बार एसोसिएसनका अध्यक्षको रोहवरमा रिहा गर्ने आदेश भएको थियो।

बाँस्तोला पत्नी हिमा बाँस्तोलाले बन्दी प्रत्यक्षिकरणको रिट दर्ता गरेकी थिइन।

उनको रिट उपर २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको भएता पनि पेसी सर्दै आज आदेश जारी भएको हो।

न्यायाधीश दिपक कुमार कार्की र पुष्पलता अमात्य इजलासले उनलाइ बन्दी बनाउनको आधार र कारण नभएको भन्दै रिहा गर्ने आदेश दिएको हो ।

नेता बाँस्तोला सहित विप्लवका ४ नेतालाई गत पुस २९ गते ललितपुरको दक्षिणी भेगबाट प्रहरीले पक्राउ गरेको थियो।

तपाइँको प्रतिक्रिया