बिहीबार, मंसिर १५, २०७९

ओलीको आयु अब सकिन्छ, फाल्गुन पहिलो साताबाट संयुक्त आन्दोलन हुन्छ -प्रचण्ड

फ्ल्यासन्युज नेपाल२०७७ माघ २२ गते १२:५१

काठमाडौँ । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पष्कमल दाहाल प्रचण्डले फाल्गुन पहिलो साताबाट संयुक्त आन्दोलन गर्नेगरी अन्य पक्षसँग छलफल चलिरहेको जानकारी दिएका छन्। बिहीबार आमहड्तालका क्रममा सडकमा आएका प्रचण्डले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भने, ‘निरंकुशताविरुद्घ अझै ठूलाठूला आन्दोलनमा जान्छौँ। सम्भवतः फाल्गुनको पहिलो सातादखि संयुक्त आन्दोलन हुनेछ।’ उनले थपे, ‘ओलीको आयु सकिन्छ।’

उनले अहिले भएको संघर्ष जनता र लोकतन्त्रको लागि भएको भन्दै प्रतिगमनविरुद्घको आन्दोलनमा जनताले साथ दिन्छन् भन्नेमा आफूहरूको विश्वास रहेको पनि बताए।

सरकार आफैँले जुलुस निकाल्नुलाई कटाक्ष गर्दै प्रचण्डले त्यसलाई पञ्चर्यालीको संज्ञा दिँदै भने, ‘हिजो पञ्चहरूले त्यसै गर्थे। ठूलाठूला पञ्चर्याली हुने गर्थे।’ टिप्पणी गर्दै उनले भने, ‘त्यो निभ्ने बेलाको बत्ती थियो।’ एकपछि अर्को असंवैधानिक कदम चाल्न ओली अग्रसर भएको बताउँदै उनले भने, हिजो पनि ओलीले संविधान मिच्दै असंवैधानिक ढंगले संवैधानिक परिषदमा सपथ गराए। यसबाट के बुझिन्छ भने उनले आफूलाई जंगली राजा जस्तै ठानेका छन्।’

आज नेकपाले गरेको आमहडतालको दिन प्रचण्डले पुलचोक, सातदोबाटो, लगायत विभिन्न ठाउँको जुलुसलाई सम्बोधन गर्नेछन्।

तपाइँको प्रतिक्रिया