आइतबार, चैत १२, २०७९

राष्ट्रपतिको चरित्रहत्या गरेको भन्दै रामकुमारी झाँक्रीमाथि कारबाही माग

फ्ल्यासन्युज नेपाल२०७७ माघ २१ गते १६:५४
नेकपा केपी शर्मा ओली समूहनिकट अखिल नेपाल महिला संघ (अनेमसंघ)ले नेकपा प्रचण्ड-माधव समूहकी नेतृ तथा विघटित प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ ।

बुधबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै अखिल नेपाल महिला संघले १६ माघमा गोरखाको सिरानचोक गाउँपालिकाको कार्यक्रममा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्रहत्या गरेको भन्दै पक्राउ गरी कारबाही गर्न माग गरेको हो ।

ज्ञापनपत्रमा झाँक्रीले राष्ट्रपति भण्डारीको चरित्रहत्या गर्दै विभिन्न लाञ्छना, गाली बेइज्जती गरी व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पुर्‍याउने नियतले आपत्तिजनक र अपमानजनक शब्द प्रयोग गरेकाले पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ ।

अनेम संघकी नेतृ सुजिता शाक्यले झाँक्रीले राष्ट्रपति संस्थामाथि नै अपमानजनक व्यवहार गरेकाले तत्काल कारबाही गर्न माग गरिएको बताइन् । गृहमन्त्री थापाले ज्ञापनपत्र बुझ्दै राष्ट्रपतिमाथि अशोभनीय आरोप लगाउनेलाई कडा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने बताएको नेतृ शाक्यले जानकारी दिइन् ।

तपाइँको प्रतिक्रिया