बिहीबार, मंसिर १४, २०८०

पुटिनका आलोचक नाभाल्नीको समर्थनमा मस्कोमा प्रदर्शन, १४ सयभन्दा बढी पक्राउ

फ्ल्यासन्युज नेपाल२०७७ माघ २१ गते १६:५१

रुसमा विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थनमा विरोघ प्रदर्शन गर्ने १४ सयभन्दा बढी प्रदर्शनकारीलाई रुसी सरकारी अधिकारीहरूले पक्राउ गरेका छन् । नाभाल्नीलाई दिइएको करिब तीन वर्षकाे जेल सजायको अन्तर्राष्ट्रिय रूपमा नै निन्दा भएको छ ।

ब्रिटेन, फ्रान्स, जर्मनी, संयुक्त राज्य अमेरिका र युरोपियन युनियनले उक्त जेल सजायको निन्दा गर्दै नाभाल्नीलाई तत्काल रिहा गर्न आग्रहसमेत गरेको छ । अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनले नाभाल्नीलाई विनासर्त तत्काल रिहा गर्न आह्वान गरेका छन् ।

मस्कोको एउटा अदालतले पुटिनका आलोचक एलेक्सी नभाल्नीलाई पहिलाको जेल सजायका बेला राखिएका सर्तहरू उलङ्घन गरेको भन्दै करिब तीन वर्षको जेल सजाय सुनाएको छ । गत महिना जर्मनीबाट रुस फर्किएलगत्तै पक्राउमा परेका उनलाई सो समयदेखि हालसम्म हिरासतमै राखिएको थियो । गत अगस्टमा घातक विष हालेर खुवाइएपछि  बिरामी परेका नाभाल्नीको झण्डै ज्यान गएको थियो र उनले जर्मनीमा उपचार भएको थियो ।

नाभाल्नीको समर्थनमा बुधबार बिहानै रुसी शहरमा जुलुस निकालेका १४ सय ८ जना पक्राउ परेका थिए । ती व्यक्तिहरू प्रायः जसो मस्को र सेन्ट पिटर्सवर्गका रहेका नागरिक अनुगमन समूह ओभीडी–इन्फोले जनाइएको छ । प्रायः लाई नाभाल्नीको सजायअघि पक्राउ गरिएको थियो ।

पछिल्ला दुई सातादेखि नाभाल्नीको गिरफ्तारीविरुद्ध हजारौँ देशव्यापी प्रदर्शनमा सामेल भएपछि नाभाल्नीका समर्थकहरूले यस निर्णयको विरोधमा अझ बढी प्रदर्शनको आह्वान गरेका थिए ।

तपाइँको प्रतिक्रिया