मंगलबार, असोज ११, २०७९

ओलीको प्रधानमन्त्री नियुक्तिमाथि नै प्रश्न चिह्न उठ्यो

फ्ल्यासन्युज नेपाल२०७७ माघ २१ गते १६:१६

काठमाडौँ । सर्वोच्च अदालतमा चलिरहेको संसद विघटनविरुद्घ परेको रिटमाथिको बहसमा महान्यायाधिवक्ता अग्नि खरेलले सोमबार प्रधानमन्त्री केपी शर्मा ओली संविधानको धारा ७६ (१) अनुसार प्रधानमन्त्री बनेको दाबी गरे।

विपक्षी कानुनविदहरूले बहसका क्रममा प्रधानमन्त्री ओली धारा ७६ (२) अनुसार प्रधानमन्त्री बनेको तर्क गरेको बताउँदै खरेलले प्रश्न गरे, ‘धारा ७६ (२) बमोजिमको सरकार भनिराख्दा यदि एउटा प्रश्न कसैले गरिदियो भने उहाँहरूलाई अप्ठ्यारो हुन्छ कि? ७६ को (२) बमोजिमको सरकार हुनका निम्ति दुई वा दुईभन्दा बढी दलहरूको अलग–अलग अस्तित्व देखिन्छ कि देखिँदैन? देखिन्छ भने ती दुईवटा दलहरू कुन कुन हुन् आजको मितिमा? यो कुरालाई उहाँहरूले पुष्टि गर्नुहुन्छ भन्ने म चाहन्छु।’

प्रधानमन्त्री ओली धारा ७६ (२) अन्तर्गत प्रधानमन्त्री बनेका हुन् भन्ने तर्क गरेर रिट निवेदक तर्फका वकिलहरूले दुईवटा दलहरु अझै अस्तित्वमा छन् भनेर सिद्घ गर्न खोजेको खरेलको आरोप थियो। सोमबार अदालतमा बहस गर्दै महान्ययाधिवक्ता खरेलले आफ्ना विपक्षीहरूमाथि आरोप लगाए, ‘ती दुईवटा दलहरू आजको दिनमा पनि अलग–अलग दलका रूपमा बरकरार कायम रहेका छन् भन्ने पुष्टि गर्न चाहेको ठहर्छ।’

त्यस्तै, धारा ७६ (१) अनुसार बहुमतप्राप्त दलको प्रधानमन्त्री नियुक्त भएको बताइरहँदा समेत अहिलेसम्म त्यस्तो नियुक्ति राष्ट्रपति कार्यालयले जारी गरेको रेकर्ड कतै भेटिँदैन।

मन्त्रीपरिषद र राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको नियुक्तिका सन्दर्भमा उल्लेख गरेका दुवै धाराहरूले प्रधानमन्त्री नियुक्तिको व्यहोरालाई अर्थ्याउन नसकेको अवस्थामा प्रधानमन्त्रीको नियुक्तिमाथि नै प्रश्न चिह्न खडा भएको छ। कानुनविदहरूले प्रश्न गरेका छन्, ‘ओली कुन धाराका प्रधानमन्त्री?’

तपाइँको प्रतिक्रिया