सोमबार, चैत १३, २०७९

संस्कृति मास्ने अभियान कि संयोग? रानीपोखरी, कमलपोखरी र फेरि पशुपति!

फ्ल्यासन्युज नेपाल२०७७ माघ २१ गते १५:३९

काठमाडौँ । सोमबार ढल्केबरको सबस्टेसन उद्घाटन लगतै आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ कामका लागि पुरानो परम्परा तोडिनुपर्छ भन्ने अभिव्यक्ति दिएसँगै संस्कृतिविदहरू विचलित भएका छन्।

पशुपति मन्दिरको मूल शिवलिंगमा रहेको जलहरीमा सुनको लेपन लगाउने विषयमा भएको विवादलाई लक्षित गर्दै प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएपछि संस्कृतिविदहरूले आपत्ति जनाएका हुन्। ओलीले भनेका थिए, ‘पशुपतिमा पहिलेजस्तै चाँदीकै जलहरी हाल्नुपर्ने भनेर आएको गुनासो गर्नेसँग म प्रश्न गर्न चाहन्छु, मेरो बुबा किसान हुनुहुन्थ्यो, तर म प्रधानमन्त्री भएँ। नयाँ र राम्रा कामका लागि परम्परा भत्काउनुपर्छ।’ तर, हिन्दु धर्ममा सबै देवीदेवताहरूको छुट्टाछुट्टै कार्यविभाजन भएको र सोही कार्यानुसार उनीहरूको पूजा विधान वा प्रतिमा लक्षणको विषय उल्लेख भएको भन्दै संस्कृतिविदहरूले शिवलिंगमा सुनको जलप राख्ने अवधारणा गलत हुने टिप्पणी गरेका छन्।

पशुपति क्षेत्रका सम्पदा एवं परम्पराहरूका अध्येता एवं श्रीपशुपति अर्चना तथा सुव्यवस्था प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रा. देवीप्रसाद चापागाईं केही नयाँ गर्नका लागि परम्परा तोड्नुपर्छ भन्ने प्रधानमन्त्री ओलीको तर्कमा आपत्ति जनाउँदै भन्छन्, ‘संसारमा सबैभन्दा ढिला परिवर्तन हुने विषय नै संस्कृति नै हो। कुनै राजनीतिक दलले भन्ने बित्तिकै सांस्कृतिक परम्परा तोडिएका इतिहास संसारमा सायदै भेटिएलान्।’ भन्छन्, ‘भारतमा अंग्रेजहरूको समयमा हिन्दुधर्म बनेवापत जजिया कर लगाइयो। तर, पनि संस्कृति नास्ने गतिविधि भएन। चीनमा पनि सांस्कृतिक क्रान्तिको नाममा केही वर्ष खेर फालियो, तर अहिले पहिलेकै अवस्थामा पुगेको छ, त्यसैले यो विस्तारै समयसँगै आफै परिवर्तन हुने चिज हो, प्रधानमन्त्रीले भन्दैमा परम्परा तोडिँदैन र तोड्ने प्रयास पनि गर्नुहुँदैन।’ उनले भने।

पशुपतिको मूल जलहरीमा सुनको आवरणले ढाक्ने निर्णयको बारेमा पनि चापागाईं आपत्ति जनाउँछन्। उनी देवीदेवताका लागि छुट्टाछुट्टै वस्त्र र आभूषणको विधान धर्मशास्त्रमा रहेको भन्दै सुनको जलप राख्नु उपयुक्त नरहेको दाबी गर्छन्। उनका अनुसार यो श्रृंगारबाहेक कुनै पनि दृष्टिबाट सही मानिँदैन। उनी भन्छन्, ‘त्यही भएर नै अहिलेसम्म नेपाल र भारतका अधिकांश शिवालयहरूमा सुनको जलहरी वा शिवलिंग राख्ने चलन छैन। चापागाईंका अनुसार शिव स्वभावैले मसानमा बस्ने र धर्मशास्त्रले पनि ‘श्रृंगार प्रियः विष्णु, अभिषेक प्रियः शिव’ भन्ने उल्लेख भएकाले शिवालयमा रत्नाभूषणले झकिझकाउ बनाउनु आवश्यक छैन।’

बागमती प्रदेशका प्रदेशसभा सांसद एवं पशुपति क्षेत्र विकास कोषका पूर्वकोषाध्यक्ष नरोत्तम वैद्य परम्परा तोड्नु पर्छ भन्ने प्रधानमन्त्रीलाई स्थानीयले परम्परा तोड्न नदिने चेतावनी दिए।

तपाइँको प्रतिक्रिया