बिहीबार, मंसिर १४, २०८०

बागमती प्रदेशसभा भंग हुनसक्छ -प्रदेश सांसद नेपाल

फ्ल्यासन्युज नेपाल२०७७ माघ २० गते १४:१४

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीनिकटका सांसद सरेश नेपालले बागमती प्रदेशसभा विघटन हुने सम्भावना देखिएको बताएका छन्। नेकपाको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले प्रदेश सभा स्थगनको विरोधमा नाराबाजी गरेपछि उनले यस्तो अभिव्यक्ति दिएका हुन्।

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्घको अविश्वासको प्रस्तावमाथि थप छलफल गर्न भन्दै सभामुख सानुकुमार श्रेष्ठले फागुन ५ गते दिउँसो २ बजेसम्मलाई प्रदेशसभा बैठक स्थगन गरेका थिए। प्रचण्ड–माधव नेपाल पक्षका सांसदहरूले बाहिर आएर विरोध प्रदर्शन गरेपछि सिन्धुपाल्चोकबाट निर्वाचित सांसद नेपालले प्रदेशसभा नै भंग हुने परिस्थिति आएको बताएका हुन्।

‘वागमती प्रदेशसभामा तमासा देखिएको छ। अस्थिरता निम्त्याएर संसद विघटन गर्न बाध्य बनाउने परिस्थिति निर्माण गर्ने काम सबैतिर बढ्दै गएको छ। मुख्यमन्त्री डोरमणि पौडेलविरुद्घ अविश्वासको प्रस्ताव पेश भएपछि त्यसमा छलफल गरी निकासको बाटो खोज्न सभामुखले केही दिन बैठक स्थगन गर्नु भएको थियो’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली कांग्रेसले साथ नदिँदा अविश्वास पारित नहुने र सरकारलाई विश्वासको आवश्यक मतको लागि पनि कांग्रेसको सहयोग चाहिने भएकाले उसले समय मागेर पार्टीबाट निर्णय गराउन खोजेकै कारण बैठक स्थगन गरेको बताइन्छ।’

प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुँयालले पनि कांग्रेस र अरू दलहरूसँग छलफल गरेरै बैठक फागुन ५ गतेसम्म धकेलिएको बताउँछन्। मन्त्री फुँयालले भने, ‘सबै दलहरूसँग परामर्श गरेर नै सभामुखले बैठक केही दिन स्थगित गर्नुभएको हो। अस्थिरता निम्त्याउन खोज्नेहरूले बाहिर नाराबाजी गरे।’ उनले प्रचण्ड–माधव नेपाल समूहले अविश्वासको प्रस्ताव पनि वैध तरिकाले दर्ता नगरेको बताएका छन्। अविश्वासको प्रस्तावमा तलमाथि हस्ताक्षर गरेर प्रक्रियासंगत ढंगले बुझाउनुपर्नेमा अर्कै प्रयोजनका लागि संकलन गरिएको हस्ताक्षर मुख्यमन्त्रीविरुद्घ प्रयोग गरिएको पनि बताए। उनले अविश्वासको प्रस्तावका सन्दर्भमा कांग्रेससँग पनि कुराकानी भइरहेको र फागुन ५ गतेपछि मात्रै प्रक्रियामा जाने बताएका छन्।

यस्तै सासंद सरेश नेपालले भने कांग्रेस मौन बस्यो भने संसद विघटनको बाटोमा जान सक्ने औँल्याएका छन्। ‘संसदले गर्ने यावत काम अवरुद्ध गरेर मुख्यमन्त्रीलाई संसद विघटनको सिफारिस गर्न बाध्य बनाउने हर्कत अघि बढाइँदैछ। अनैतिकताको हद कसरी नाघ्दैछ प्रचण्ड–माधव गुट भन्ने उदाहरण उसले पेश गरेको अविश्वास प्रस्तावको व्यहोराले बताउँछ। उक्त गुटका तत्कालीन मन्त्रीहरूको जिम्मामा रहेको मन्त्रालयभित्रका बेथिति, भ्रष्टाचार र अकर्मण्यताको दोष मुख्यमन्त्रीलाई थोपरिएको छ।

प्रतिनिधिसभा विघटन नगरेको भए बागमती प्रदेशकै हालत हुने रहेछ भन्दै यस्ता घटनाक्रमहरूले निर्वाचनमा जानै पर्ने सन्देश स्पष्ट पारेको सांसद नेपालले बताए।

तपाइँको प्रतिक्रिया