बुधबार, चैत ८, २०७९

संसद विघटनको विरोधमा कांग्रेसको देशव्यापी विरोध प्रदर्शन

फ्ल्यासन्युज नेपाल२०७७ माघ १९ गते १६:५८

काठमाडौँ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा भएको संसद विघटन असंवैधानिक भएको भन्दै नेपाली कांग्रेसले विभिन्न तहबाट विरोधका कार्यक्रमहरू गर्दै आएको छ। यसै क्रममा आज पनि कांग्रेसले देशव्यापी रूपमा विरोध प्रदर्शन गरेको छ।

नेपाली कांग्रेसको काठमाडौँ जिल्ला कार्यसमितिले १३ वटै भातृ संस्थाहरूको संयुक्त उपस्थितिमा शान्तिवाटिकामा विरोधसभा आयोजना गरेको छ। पार्टीका प्रभावशाली नेता प्रकाशमान सिंहको प्रमुख आतिथ्यता रहेको उक्त सभामा नेपाल विद्यार्थी संघका महामन्त्री मनोज वैद्य, ने वि संघ अध्यक्ष राजिब ढुङ्गाना, नेपाल तरुण दल काठमाडौँ जिल्ला सभापति कृष्ण जी खड्का लगायत विभिन्न भातृ संगठनका अध्यक्षहरूको उपस्थिति थियो।

सभालाई सम्बोधन गर्ने क्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय सभापति राजिब ढुङ्गानाले प्रधानमन्त्रीको  हालत प्वाँख आएको कमिलाजस्तो भएको भन्दै “प्वाँख आएपछि कमिलाले मर्नैपर्ने” टिप्पणी गरेका हुन्। नेपाल विद्यार्थी संघका महामन्त्री मनोज वैद्यले पनि संविधानमाथि प्रहार गरेर निरंकुशता देखाएको भन्दै, केपी शर्मा ओली र पूर्व राजा ज्ञानेन्द्र उस्तै भएको दाबी गरेका छन्। यस्तै, तरुण दल काठमाडौँका अध्यक्ष कृष्ण जी खड्काले पनि कांग्रेस दुई धारमा विभाजित भएको हल्लालाई गलत ठहर्याउन यसरी सबै भातृ संगठन एकमुष्ठ भई सडकमा उत्रिएको बताएका छन्।

नेपाली कांग्रेसले आफ्नो पार्टी दुई धारमा नबाँडिएको भन्दै संसद विघटन गलत भएको र यसको पुनःस्थापना हुनुपर्छ भन्नेमा आफूहरू सुरुदेखि नै स्पष्ट रहेको दाबी गरेको छ

तपाइँको प्रतिक्रिया