के हाे बर्ड फ्लू ? यस्ता छन् बर्डफ्लूको लक्षण र जोगिने उपाय
काठमाडौं । नेपालमा फेरि बर्डफ्लूको संक्रमण भेटिएको छ। काठमाडौंकै केही पोल्ट्रीफार्मका कुखुरामा बर्डफ्लूको संक्रमण पुष्टि भएको छ। योसँगै सरकारले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अपील गरेको छ।
नेपालमा सन् २००९ मा झापामा सबैभन्दा पहिले बर्डफ्लूको संक्रमण भेटिएको थियो। भारतमा यो संक्रमण सन् २००६ मा पहिलोपटक देखिएको थियो।
वर्ल्ड अर्गनाइजेसन फर एनिमल हेल्थका अनुसार, २०१४ जनवरीदेखि २०१६ नोभेम्बरसम्म ७७ मुलुकमा १३ प्रजातिका भाइरसद्वारा उत्पन्न बर्डफ्लू पाइएको छ।
मान्छेजस्तै पक्षीहरूलाई पनि रुघाखोकी लाग्ने गर्छ । पक्षीमा रुघाखोकी उत्पन्न गर्ने भाइरसले कुखुरा वा अन्य पोल्ट्री, जंगली चराचुरुंगी, प्रवासी पक्षी, हाँसलगायत प्रभावित हुन्छन्। टाइप ए प्रजातिको रुघाखोकीको भाइरसले गर्दा यस्तो हुन्छ।
सामान्यतः पक्षीको रुघाखोकीको भाइरसले अन्य पक्षीलाइ नै प्रभावित गर्ने गर्छ। पंक्षीको रुघाखोकीको भाइरसले मानिसमा यो रोग सर्नु दुर्लभ नै भए पनि यस्तै भइरहेको छ र भइरहन पनि सक्छ । एच(एन) प्रजातिको भाइरसको उत्पत्ति जंगली र प्रवासी पक्षीका कारण हुने गर्छ।
मुलुकमा फेरि बर्डफ्लु देखिन थालेकोले नआत्तिई सुरक्षाका उपायहरू अपनाउनु बुद्घिमानी हुने विज्ञहरु बताउछन्। त्यसका लागि यसको लक्षणबारे थाहा पाउन अत्यावश्यक छ।
लक्षण :
मानिसमा देखिने बर्डफ्लुको लक्षण सामान्य रुघाखोकीभन्दा खासै फरक हुँदैन । बर्डफ्लुको लक्षण यसको प्रजातिमा समेत निर्भर गर्छ।
दुवै उस्ताउस्तै देखिए पनि रुघाखोकी हुँदा एक सातासम्म लक्षण देखिँदै निको हुन्छ। बर्डफ्लु भए बिहानदेखि सुरु भएको लक्षण एक–दुई दिनमै सबै देखिएर बिरामी थला पर्ने चिकित्सकहरु बताउछन्। बर्ड फ्लु मानिसमा सर्दा धेरै छिटो लक्षणमा वृद्घि हुन्छ।
मानिसमा बर्ड फ्लुको संक्रमण भएपछि आँखामा संक्रमण, ज्वरो, घाँटीमा खसखस, मांसपेसीमा पीडा, रुघाखोकीजस्ता लक्षण वा सासको गम्भीर रोगमा जस्तो छातीमा संक्रमण, निमोनिया आदिजस्ता समस्या देखिन सक्छन्। यसमा पखालासमेत देखिन सक्छ।
बर्डफ्लुको कडा भाइरसले संक्रमण गर्दा सास फेर्न नसक्ने, धेरै अंगले काम गर्न छोड्ने हुँदै बिरामीको मृत्युसम्म हुन सक्छ।
कसरी सर्छ ?
बर्डफ्लुको संक्रमण मुख्य रूपले संक्रमित पंक्षी र जिउँदो अथवा मरेका कुखुरा/हाँस– लगायत, तिनको सुलीसँग निकट सम्पर्कले हुन्छ। यो संक्रमण मानिसबाट मानिसमा भने कमै मात्र सर्छ।
संक्रमित पक्षीको र्याल, सिँगान, सुलीमा बर्डफ्लुको विषाणु रहने भएकोले यस्ता वस्तुलाई हत्तपत्ति छुन हुन्न र संक्रमणको सम्भावना भएका वस्तु छोए तुरुन्त साबुनपानीले हात धुनुपर्छ।
मानिसमा बर्डफ्लुको भाइरस मुख, नाक, आँखाको माध्यमले फैलिन्छ।
कसरी जोगिने ?
–बिरामी वा मरेको पंक्षीलाई नछुने
–बर्डफ्लु देखिएको ठाउँमा कसैसँग हात नमिलाउने
–पंक्षीसँगको सीधा सम्पर्कबाट बच्ने
–सुली नछुने
–घरमा पालेको पंक्षीको पिँजडा र भाँडाकुँडा दिनहुँ सफा गर्ने
–चिकेन उत्पादसम्बन्धी काम गर्ने बेला मास्क र पन्जा लगाउने
–मासु एक सय डिग्री तापक्रममा पकाएर मात्रै खाने
–काँचो वा आधा पाकेको चिकेन वा अन्डा नखाने
–सरसफाइमा विशेष ध्यान दिने ।