ओलीले राजा रजौटासँगको साँठगाँठमा प्रतिनिधि सभा विघटन गरे: दाहाल
काठमाडौ । नेकपा दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीले देशभित्रका राजा रजौटासँगको साँठगाँठमा प्रतिनिधि सभा विघटन गरेको बताएका छन ।
आइतबार आफु निकट अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले देशभित्रका सामन्ती राजा रजौटा र निरंकुशतावादीहरुसँग साँठगाठ गरेर प्रतिनिधि सभा विघटन गरेको बताएका हुन । उनले देश बाहिरका दक्षिणपन्थी प्रतिक्रियावादीहरुको इशारामा ठुलो डिजाइन अन्र्तगत नेपाली जनतालाई अपमानित गर्ने रणनीतिका साथ जनताले हासिल गरेका राजनीतिक उपलब्धीमाथि प्रहार गरिएको पनि बताए ।
अध्यक्ष दाहालले प्राप्त उपलब्धीको रक्षाको निम्ति पुनः जुर्मुराएर आन्दोलित हुनुपर्ने अवस्था आएको औँल्याए । अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले आफुतिर मान्छे तान्न भएभरको शक्ति लगाएको बताए । ओलीले भएभरको शक्ति लगाएर आफुतर्फ तान्ने प्रयास गरेको भएपनि धेरै नेताहरुले अस्वीकार गरेको उनको भनाई छ । प्रतिनिधि पुर्नस्थापना भए ओली पक्षका २० जना नेताहरुले आफुहरुलाई साथ दिने बचन दिएको पनि नेता नेपालले बताए ।
अध्यक्षद्धय दाहाल र नेपालले पार्टीले गर्ने विरोध सभामा किसानहरुको तर्फबाट उल्लेख्य सहभागिता जनाउन तथा आफ्नो पक्षमा नेता कार्यकर्तालाई राखिरहन निर्देशन पनि दिए ।