बाग्मतीमा फोहोर फाल्ने तीन कम्पनीलाई कार्बाही
काठमाडौं । वाग्मती सफाइ महाअभियानको ४०३ औँ हप्तामा नदी किनारमा फोहर फाल्ने तीन कम्पनीलाई कारबाही गरिएको छ ।
तीनकुनेमा रहेको नदी किनारमा सफाइका क्रममा काठमाण्डौ महानगरपालिकाले नदी किनारमा फोहर फालेका गरिमा वर्कशप तीनकुनेलाई दुई हजार, विनोद पानपसल आलोकनगरलाई एक हजार र बानेश्वर क्याफे आलोकनगरलाई ५०० रुपैयाँ जरिवाना गरिएको अभियानकर्मी गोविन्द काफ्लले जानकारी दिए ।
गरिमा वर्कशपलाई यसअघि पनि नदी किनारमा फोहर नफाली तोकिएको ठाउँमामात्र व्यवस्थापन गर्न काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले चेतावनी दिएको थियो ।
जरिवाना गरिएको शुल्क महानगरपालिकाकै कोषमा जम्मा हुने गरेको छ । ४०३ औँ हप्ताको सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, विश्व शान्ति विहार मीनभवन, पहिलो पाइला, नेपाल आमा, आलोकनगर महिला समूहलगायतका गरी १०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।
सफाइमा अभिनेत्री नीता ढुङ्गाना पनि सहभागी हुनुभएको थियो । सफाइबाट १० मेट्रिकटन फोहर व्यवस्थापन गरिएको पनि उनले बताए ।