बिहीबार, जेठ १८, २०८०

आगो ताप्दै गर्दा जलेर १०१ वर्षीया वृद्धाको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७७ माघ १७ गते ९:४९

काठमाडौँ। आगो ताप्ने क्रममा जलेर गम्भीर घाइते भएकी खोटेहाङ गाउँपालिका ७ खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको छ। आगो ताप्ने क्रममा शुक्रबार बिहान लुगामा आगो सल्किएर जलेपछि गम्भीर घाइते भएकी उनको उपचार हुँदै गर्दा मृत्यु भएको हो।

शरीरमा लगाएको लुगाबाट सल्किएको आगोले जलेर गम्भीर घाइते भएकी अधिकारीको घरैमा स्वास्थ्यकर्मी झिकाएर उपचार गराउने क्रममा मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद फुयाँलले जानकारी दिए। मृतक हिमादेवी गाउँपालिकाकै सबैभन्दा ज्येष्ठ नागरिक थिइन्।

अधिकारीको मृत्यु भएको बारेमा थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताएको छ। उनको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पठाइएको गाउँपालिका प्रमुख प्रदीप राईले जानकारी दिए।

तपाइँको प्रतिक्रिया