सोमबार, चैत १३, २०७९

मकैबारी हेर्न बाँदरलाई दिएजस्तै भएको छ -प्रदीप पौडेल

फ्ल्यासन्युज नेपाल२०७७ माघ १६ गते १७:२५

काठमाडौँ । सहिद दिवसको अवसरमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशमा अलोकतान्त्रिक दुर्घटनाहरू घटेको भन्दै प्रतिनिधिसभा विघटनविरूद्घ काठमाडौँमा प्रदर्शन गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेपाली कांग्रेस निरन्तर सडकमा उत्रिँदै आएको छ। दिउँसो १ बजेदेखि प्रदर्शनसहितको कांग्रेसको र्याली शान्तिवाटिकामा पुगेर सभामा परिणत भएको हो। सभामा वीर सहिदहरूको स्मरणमा उनीहरूको बलिदान र क्रान्तिलाई सम्झँदै पार्टीका नेताहरूले प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको कदमले सहिदहरूको बलिदानमाथि कुठाराघात गरेको आरोप लगाएका छन्।

सभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले अहिलेको सरकार इतिहासकै असफल सरकार भएको टिप्पणी गरेका छन्। उनले भने, ‘नेपालमा गणतन्त्र होइन विद्यातन्त्र चलिराखेको छ।’ उनले स्थिरताको पक्षमा भाषण गरेपनि व्यवहारका हिसाबले स्थिरता र संघीयताको प्रमुख बाधक नै प्रधानमन्त्री आफै भएको आरोप लगाएका छन्।

उनले असन्तुष्टि व्यक्त गर्दै भने, ‘संविधानभन्दा माथि बस्न खाेजेका छन् प्रधानमन्त्री र राष्ट्रपति।’ प्रधानमन्त्रीले स्वयंले लोकतन्त्र मास्न खोजेको भन्दै उनले भने, ‘केपी ओलीलाई गणतन्त्रको रक्षा गर्न दिनु भनेको मकैबारी हेर्न बाँदरलाई दिनुजस्तै हो।’ नेकपाले एउटा गणतन्त्रको विराेधीलाई प्रधानमन्त्री बनाएको भन्दै नेता पौडेलले भने, ‘यो अवस्थाको दोषी प्रचण्ड र माधव नेपाल नै हुन्। यो गल्ती सच्चिनुपर्छ। कांग्रेसको माग भनेकै संसदकाे पुनर्बहाली हाे।’

अन्तिममा उनले राजनैतिक परिस्थिति दिनदिनै बिग्रिँदै गइरहँदा अब आन्दोलनको विकल्प नरहेको दाबी गर्दै त्यसको नेतृत्व कांग्रेसले गर्नुपर्नेमा जोड दिएका छन्।

तपाइँको प्रतिक्रिया