शुक्रबार, जेठ २६, २०८०

श्रीमानहरूले केही पनि हेर्न जरुरी छैन, केवल संविधान हेरे पुग्छ -गगन थापा

फ्ल्यासन्युज नेपाल२०७७ माघ १६ गते १७:२४

काठमाडौँ । सहिद दिवसको अवसरमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशमा अलोकतान्त्रिक दुर्घटनाहरू घटेको भन्दै प्रतिनिधिसभा विघटनविरूद्घ काठमाडौँमा प्रदर्शन गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेपाली कांग्रेस निरन्तर सडकमा उत्रिँदै आएको छ। दिउँसो १ बजेदेखि प्रदर्शनसहितको कांग्रेसको र्याली शान्तिवाटिकामा पुगेर सभामा परिणतभएको हो। सभामा वीर सहिदहरूको स्मरणमा उनीहरूको बलिदान र क्रान्तिलाई सम्झँदै पार्टीका नेताहरूले प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको कदमले सहिदहरूको बलिदानमाथि कुठाराघात गरेको आरोप लगाएका छन्।

सभालाई सम्बोधन गर्दै नेता गगन थापाले प्रधानमन्त्री ओलीले संसदको नभएर सिङ्गो संविधान नै विघटन गरेको टिप्पणी गरेका छन्। उनले भनेका छन्, ‘केपी ओलीको सनककै कारण नेपाली जनताले मतको अपमान सहनुपरेको छ।यस घटनालाई इतिहासमा मतको अपमान भनेर जनताले चिन्नेछन्।’

थापाले अदालतमा संसद विघटनमाथि बहस भइरहेको स्मरण गर्दै उक्त कदमलाई गलत भनी फैसला गर्नेमा आफू विश्वस्त रहेको बताएका छन्। बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने भन्दै उनले भने, ‘अदालतले लेखेको मात्र व्याख्या गर्न पाउने हो। काल्पनिक कुरा गर्न पाइँदैन।’

हरेकपटकझैं उनले आजपनि उही कुरा संवैधानिक इजलासलाई लक्षित गर्दै भने, ‘श्रीमानहरूले केही पनि हेर्न जरुरी छैन। केवल संविधान हेरे पुग्छ।’

तपाइँको प्रतिक्रिया