शनिबार, मंसिर २४, २०७९

सहिदको इतिहास र क्रान्तिको गाथाले नेपाली चलचित्र जगतलाई गिज्याइरहेको छ !

फ्ल्यासन्युज नेपाल२०७७ माघ १६ गते १५:२९

सिनेमालाई समाज रूपान्तरणको बलियो माध्यम मानिन्छ। मानिस सामाजिक प्राणी भएकाले मानिसले गर्ने हरेक काममा समाज जोडिएको हुन्छ, सिनेमामा पनि। शुक्रबार अर्थात माघ १६ गते देशका विभिन्न ठाउँमा विभिन्न कार्यक्रम गरेर सहिद दिवस मनाइरहिएको छ।

नेपाली फिल्ममा सहिदका कथा समेटिएको छ त? 

डेढ दशक अघि विजय बस्नेतको कथा, निर्माण तथा निर्देशनमा सहिद नामको नेपाली फिल्म बन्यो। जनयुद्धको कथामा बनको उक्त फिल्ममा देशको राजनीतिक अवस्थाका कारण जनमुक्ति सेनामा हुमिन पुगेको पात्र विवेकको कथा रहेको छ। देश र जनताका लागि आफ्नो ज्यानकै माया मारेर युद्ध लडिरहेका लडाकुको कथा भन्न खोजिएको छ। तर, फिल्ममा धेरै त्यस्ता लडाकु र जनयुद्धकै धेरै पाटाहरु न्यायोचित ढंगले आएको छैन।

फिल्ममा मुख्य पात्रको भूमिका निभाएका अभिनेता दिलिप रायमाझीले आफ्नो करिअरमा राम्रो काम गरेको फिल्म मध्येमा सहिद पनि आउँछ। तर, फिल्म एउटा अभिनेताले राम्रो काम गर्दैमा फिल्म राम्रो बन्न सक्दैन। फिल्ममा धेरै कमी कमजोरी छन्। जसमध्ये एउटा कमजोरी यसको संवाद पनि हो। दृश्यले बोल्नुपर्ने कुराहरू फिल्ममा संवादको माध्यमबाट भन्न खोजिएको छ जसले गर्दा सिनहरू धेरै लम्बिएका छन् तर प्रभावकारी भने बन्न सकेका छैनन्।

सहिदजस्तै जनयुद्घको कथालाई समेटेर धेरै फिल्म बनेका छन् जसमा सहिद र तिनको बलिदानका कुरा पनि राख्न खोजिएको छ। सहिदहरूको योगदान महशुस गराउने खालका सम्झन लायक फिल्म भने बन्न सकेका छैनन्। जनयुद्घका कथा आए पनि राणा शासन विरुद्घ लडेका शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, लखन थापाजस्ता वीर योद्घाहरूको कथा भने आउन सकेको छैन।

नेपाली सिनेमामा सहिदका कथा खोज्दा, ‘सहिद’ बाहेक अरू कुनै चलचित्र नभेटिनु दुःखद कुरा हो। सहिदको इतिहास र क्रान्तिको गाथाले नेपाली चलचित्र जगतलाई गिज्याइरहँदा चलचित्रकर्मीहरूले त्यतातर्फ ध्यान दिनुपर्ने पो हो की? चलचित्र क्षेत्र, के मनोरञ्जन पस्कने चमेनागृह मात्रै हो त? समाज, सभ्यता, देश, बलिदान, इतिहासप्रति चलचित्र क्षेत्रले कुनै दायित्व राख्दैन र?

सहिद दिवसको सबैलाई शुभकामना र विशेष गरी चलचित्रकर्मीहरूलाई! यता ध्यानाकर्षण होस्!

तपाइँको प्रतिक्रिया