धेरै नोटमा हस्ताक्षर गर्ने चाहना छैनः गभर्नर अधिकारी
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूले हस्ताक्षर गरेको नोट धेरै छाप्नु नपरोस् भन्ने चाहना आफूले राखेको बताएका छन्। कुलेश्वर फलफूल बजारमा डिजिटल कारोबारको शुभारम्भ गर्दै शुक्रबार उनले सकेसम्म आफ्नो हस्ताक्षरका नोटहरू बजारमा नदेखिउन् भन्ने आफूले चाहेको बताएका हुन्।
डिजिटल कारोबारले नगद कारोबारलाई निरुत्साहित गरोस् भन्ने आफूले चाहेको उनको भनाइ छ। गभर्नर अधिकारीले भने, ‘म नोटमा हस्ताक्षर गर्ने व्यक्ति हुँ, तर मेरो कार्यकालमा धेरै नोट छापियोस् भन्ने म चाहन्नँ। डिजिटल कारोबार नै सुरक्षित हो, राज्यको खर्च पनि बचाउछ यसकारण नगद होइन डिजिटल कारोबार नै रोज्न मेरो अनुरोध पनि छ।’
डिजिटल कारोबार सुरक्षाको दृष्टिकोणले पनि नगद कारोबारभन्दा उत्तम हुने भन्दै उनले अब सबै नागरिकले नगदरहित कारोबारलाई प्राथमिकतामा राख्नु पर्ने बताएका छन्। उनले डिजिटल कारोबार गर्दा राज्यको समेत अर्बौं रकम बचत हुने बताएका हुन्।
कुलेश्वरमा नविल बैंकको अगुवाइमा क्यूआर पेमेन्ट शुरुआत भएको हो। नविलका अध्यक्ष उपेन्द्र केशरीले अब डिजिटल कारोबार सबैतिर पुर्याउनु पर्ने बताएका छन्। नविलका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले अब यस अभियानलाई व्यापक बनाइने बताउँदै टोलटोलमा डिजिटल कारोबारका लागि योजनाबद्ध ढंगले अघि बढ्न जोड गरे।
यसअघि एनएमबि बैंकले बल्खु तरकारी बजारमा पनि क्यूआर पेमेन्टको शुभारम्भ गरेको छ। बल्खुमा पनि गभर्नर अधिकारीले नै उद्घाटन गरेका थिए।