शहीदले देखेको सपनाको सार देशको समृद्धि र जनताको सुख हो- प्रधानमन्त्री
फ्ल्यासन्युज नेपाल२०७७ माघ १६ गते ९:०८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदले देखेको सपनाको सार देशको समृद्धि र जनताको सुख भएको बताएका छन् । शहीद दिवसको अवसरमा शुभकामना सन्देश मार्फत प्रधानमन्त्री ओलीले शहीदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने बताएका छन् ।
प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हाम्रा प्रातः स्मरणीय शहीदले देखेको सपनाको सार देशको समृद्धि र जनताको सुख हो । देशको समृद्धि र जनताको सुख प्राप्तिका लागि तिनै शहीदका सपनालाई मूर्तरुप दिन हामीले बितेका केही वर्षमा नवनिर्माणको चौतर्फी अभियान चलाएका छौं ।’
सुस्थीर राजनीतिमा व्यवधान पैदा गर्दै मुलुकको विकास र समृद्धिको आकांक्षाविरुद्ध खडा गरिएका चुनौतीलाई सबैले एकजुट भएर पराजित गर्नुपर्नेसमेत प्रधानमन्त्री ओलीले सन्देशमा उल्लेख गरेका छन् ।