मंगलबार, मंसिर २०, २०७९

सहिद गंगालाल र दशरथ चन्दप्रति श्रद्धाञ्जलि

फ्ल्यासन्युज नेपाल२०७७ माघ १५ गते १८:१६

काठमाडौं । काठमाडौँ महानगरपालिकाले छातीमा गोली थापेर सहादत प्राप्त गरेका सहिद दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा श्रद्धाञ्जलि सभा गरेको छ ।

आज काठमाडौंको पश्चिम विष्णुमती नदीको किनारा शोभाभगवतीमा सहिदको  सम्झनामा श्रद्धाञ्जलि सभा आयोजना गरिएको हो ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कसैलाई पनि व्यक्तिगत रुपमा चोट नपुर्‍याई राष्ट्रलाई मुक्तिको बाटो देखाउने चार सहिद आम नेपालीको सम्झनामा सदैव रहने बताए । उनले भने, ‘‘कसैलाई ढुंगा–इँटा हान्ने, खुकुरी–तरबार चलाउने, गोला–बारुद फ्याँक्ने काम गर्नुभएन । तर, सहिदको आवाज हतियारभन्दा धेरै सशक्त थियो । आवाजले देश–विदेश नै तरंगित भयो । सहिदको सपना पूरा गराउन एकले अर्कालाई दोषारोपण गर्नेभन्दा पनि सहकार्य गरेर अघि बढ्नुपर्छ । हामी पनि त्यसैअनुसार अघि बढेका छौँ ।’’

सभामा महानगरका प्रवक्ता एवं वडा नम्बर–१५ का अध्यक्ष ईश्वरमान डंगोलले सहिदको सपना पूरा गराउन विद्यमान सोच परिवर्तन गर्नुपर्ने बताए । उनले भने, ‘‘विकृत सोचले समस्या सृजना भएका छन् । अब सामुहिक हितका लागि सोच राख्नुपर्छ । यसबाट प्राप्त परिणामले सहिदको सपनामा योगदान पुर्‍याउँछ ।”

हुकुमी शासनको विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथचन्द र गंगालाल श्रेष्ठलाई शोभाभगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो ।

तपाइँको प्रतिक्रिया