प्रधानमन्त्री कप क्रिकेट : बागमतीमाथि ९४ रनको जित निकाल्दै आर्मी फाइनलमा प्रवेश
बागमती प्रदेशमाथि ९४ रनको शानदार जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आर्मीले राष्ट्रिय खेलाडीले भरिएको बागमती प्रदेशमाथि जित निकाल्दै एपीएफसँगको भेट पक्का गरेको हो । उपाधिका लागि यी दुई टोली शनिबार प्रतिस्पर्धा गर्नेछन् ।
आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दिएको २ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा बागमतीले ४०.२ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ३५ रन जोड्न सक्यो । ५ विकेट गुमाउँदा १८ रन जोडेको बागमतीका लागि ओपनर आकाश थापा पहिलो ओभरको तेस्रो बलमा पवेलियन फर्किएका थिए ।
कप्तान ज्ञानेन्द्र मल्लले ४७ रनको व्यक्तिगत स्कोर बनाउँदै बागमतीको इनिङ उकास्ने प्रयास गरे पनि सुशान भारीको बलमा एलबीडब्लूको धरापमा परे । विपिन आचार्यल २३ रनको स्कोर बनाउँदा नन्दन यादवले नटआउट २२ रनको योगदान गर्दा आदिल खान १० रन जितेन्द्र मुखियाको बलबमा विकेटकिपर विनोद भण्डारीबाट क्याच आउट भए ।
यस्तै, अन्य ब्याट्स म्यानले भने दोहोरो अंकको स्कोर छुन सकेनन् । तीन खेलाडी शून्यमा पवेलियन फर्किएका थिए । बागमतीको इनिङलाई सस्तैमा समेट्ने क्रममा आर्मीका जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट निकाल्दा विक्रम शोब र सुशान भारीले समान ३/३ विकेट हात पारे ।