काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद विघटनसम्बन्धी मुद्दाको बहसमा नेपाल कम्युनिस्ट पार्टीका सांसदले ‘प्रधानमन्त्रीलाई कसरी दलबाट असहयोग भयो?’ भनी प्रश्न सोधेका छन्।

न्यायाधीश अनिलकुमार सिन्हाले केही दिनअघि मात्र प्रधानमन्त्रीलाई उनको दलभित्रैबाट असहयोग भएको भन्दै सहयोग नगर्नुको कारण सोधेका थिए। उक्त प्रश्नको जवाफमा रिट निवेदकसमेत रहेका नेकपा सांसद कृष्णभक्त पोखरेलले आजको इजलासमा ‘कहाँ र कसरी असहयोग भयो?’ भनी प्रतिप्रश्न गरेका हुन्।

सरकारले संसदमा ल्याएका चिकित्सा शिक्षाबाहेक अरु सबै विधेयक जस्ताको तस्तै पारित भएको बताउँदै उनले भने, ‘मेरै समितिबाट १५६ वटा कानुन जस्ताको त्यस्तै पारित भएको छ।’ संसदको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापतिसमेत रहेका पोखरेलले भने ‘सत्य निरुपण आयोगको म्याद थप्ने जस्ता सरकारले ल्याएका हरेक प्रस्ताव पारित भएको छ।’

प्रतिप्रश्न गर्दै उनले सोधे, ‘हामीले प्रधानमन्त्रीलाई कहाँ सहयोग गरेनौँ, त्यस्तो कुनै (अवस्था) छैन, जहाँ हामीले असहयोग गरेको होस्।’