चितवनमा प्रधानमन्त्री जाने कार्यक्रम रोक्न निर्वाचन आयोगलाई प्रचण्ड-नेपाल समूहको पत्र
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रम रोक्न माग गर्दै प्रचण्ड नेपाल पक्षले निर्वाचन अयोगलाई पत्र पठाएको छ।
निर्वाचनको मिति घोषणा भइसकेपछि पनि प्रधानमन्त्रीले विकासका योजनाहरू शिलान्यास गर्दै हिँड्नु कानुनविपरीत हुने भन्दै नेकपा चितवनको प्रचण्ड–नेपाल समूहले जिल्ला निर्वाचन कार्यालयमार्फत आयोगमा पत्र पठाएको हो।
प्रधानमन्त्री ओलीले माघ १७ गते चितवनमा सिटी हल र पूर्व(पश्चिम राजमार्गको नारायणगढ गोद्राङ सडकखण्डलाई ६ लेनको बनाउने योजनाको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ।
‘निर्वाचन घोषणा भइसकेपछि सरकारकोतर्फबाट विकासका योजनाहरू शिलान्यास, उद्घाटन गर्दा निर्वाचन आचारसंहीता आकर्षित हुने हुँदा यस्ता कार्यक्रमहरू जिल्लामा हुन नदिन निर्वाचन कार्यालयको ध्यानाकर्षण गराइएको व्योहोरा अवगत गराइएको छ,’ जिल्ला अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलले हस्ताक्षर गरेर बुझाएको पत्रमा उल्लेख छ।
पत्रमा उनीहरूले सरकारले वैशाख १७ र २७ गतेका लागि निर्वाचनको घोषणा गरिसकेको स्मरण गराएका छन्।
जिल्ला निर्वाचन अधिकारी जनार्दन अघिकारीले ध्यानाकर्षण गराइएको पत्र प्राप्त भएको बताए। उनले पत्रबारे जिल्ला प्रशासन कार्यालय र निर्वाचन आयोगमा जानकारी गराइएको बताए।
चितवनमा हुने विकासका ठूला योजनाहरूको जस लिन नेकपाका दुई समूहबीच ठूलो प्रतिष्पर्धा देखिएको छ। केही दिन अघिमात्रै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले सिटी हल निर्माणस्थलमा पत्रकार सम्मेलन गर्दै शिलान्यास नगरी एकैचोटी उद्घाटन गरिने बताएकी थिइन्।