आइतबार, चैत १२, २०७९

‘जनजातिको आर्थिक सम्पन्नताको लागि सरकारको स्थायीत्व जरुरी, निर्वाचनमा साथ दिनुस्’

फ्ल्यासन्युज नेपाल२०७७ माघ १४ गते १५:५२

काठमाडौँ । आदिवासी जनजाति महासंघ, नेपालको आयोजनामा प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा राष्ट्रिय भेला भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा भइरहेको उक्त कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा लगायतका शीर्ष व्यक्तित्वहरूको उपस्थिति रहेको छ।

भेलालाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले जनजातिहरूको वर्तमान आवश्यकता आर्थिक सम्पन्नता भएको र त्यसका लागि सरकारको स्थिरता र स्थायीत्वले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्। उनले भनेका छन्,  ‘आदिवासीकाे विगतको समस्या आधारभूत रूपमा हल भएकाे छ। र जनजातिका अबकाे आवश्यकता भनेकाे सम्वृद्घि हासिल गर्ने हाे। आर्थिक रूपमा कमजाेर भएकाहरूलाई  सम्पन्न गर्नुपर्ने वर्तमान आवश्यकता हो। आर्थिक सम्पन्नताका लागि राजनैतिक स्थिरता, सरकारको स्तायीत्व महत्त्वपूर्ण छ। त्यसकारण, हाम्राे आन्दाेलनकाे उद्देश्य के हाे स्पष्ट हुन जरुरी छ।’

गुटबन्दीले राजनीतिक अस्थिरता निम्त्याएको बताउँदै गृहमन्त्री थापाले भने, ‘त्यसैले हाम्रो आन्दोलनले एकता ल्याउनु पर्छ। एकताले नै स्थिरता कायम हुनसक्छ। सबै किसिमको विकासको लागि राजनीतिक स्थायीत्व आवश्यक छ। अस्थिरता चाहनेले संसद पुनःस्थापन हुनुपर्छ भन्दै हिँडेका छन्। राजनैतिक स्थिरताकाे लागि संसद विघटन गरेर जनतामा जाने निधाे सरकारले गरेकाे हाे। जनतामा जाने सरकारको उद्देश्यलाई तिनले बिथोल्न खोजेका छन्। हाम्रो आन्दोलन एकताको लागि हुन जरुरी छ।’ थापाले आउने निर्वाचनमा नेकपाकाे विजय निश्चित भएको बताउँदै भने, ‘त्यसकारण, सरकारले निर्वाचनका लागि गरेको पहलमा स्थिरता चाहने सबैले साथ दिन जरुरी छ।’

कार्यक्रममा सहभागिता हुने बताइएको भएपनि उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, नेकपा महासचिव विष्णु पौडेलको भने कारणवश उपस्थिति हुन सकेको छैन।

तपाइँको प्रतिक्रिया