‘आज देखापरेको यो दाेबाटाे भनेकाे जनताको अभिमतलाई मान्ने कि नमान्ने भन्ने नै हो’
काठमाडौँ । आदिवासी जनजाति महासंघ, नेपालको आयोजनामा प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा राष्ट्रिय भेला भएको छ।
भेलालाई सम्बोधन गर्दै कार्यक्रममा प्रमुख अतिथि एवं प्रधानमन्त्री ओलीले वर्तमान परिस्थितिमा राष्ट्र खास अवस्थाबाट गुज्रिँदै गरेको बताउँदै मुलुक अब कुन दिशातर्फ जाने भन्ने दोसाँधमा फसेको स्वीकारेका छन्।
उनले भनेका छन्, ‘आज देखापरेको यो दाेबाटाे भनेकाे जनताको अभिमतलाई मान्ने कि नमान्ने भन्ने नै हो। ‘संसद विघटनलाई अदालतले पुनःस्थापना गरेन भने…’ भन्दै एकाथरी न्यायपालिकाकाे स्वतन्त्रतामाथि हस्तक्षेप गरिरहेका छन्। तर, हामी कुनै प्रकारले अलमल्लिन हुँदैन।’
ओलीले भने, ‘तपाईंहरूमाझ पनि कुनैबेला ‘केपी ओली जनजाति विरोधी हो’ भनेर भनेका थिए। त्यो तपाईंहरूलाई पनि लागेको थियो होला। तर, त्यो गलत हो। नेपाल १२७ जातजातिको साझा फुलबारी हो। हाम्रो नेपाल देश यही विविध जातजातिका कारण विशिष्ट छ। सरकार यसको विरोधी छैन। जनजातिको उत्थानका विषयमा विभिन्न योजनाहरू सरकारले ल्याउँदै छ। सरकारलाई काम गर्न नदिनेहरूसँग जुध्नु आजको आवश्यकता हो।’
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा भइरहेको उक्त कार्यक्रममा, गृहमन्त्री रामबहादुर थापा, लगायतका शीर्ष व्यक्तित्वहरूको उपस्थिति रहेको छ। कार्यक्रममा सहभागिता हुने बताइएको भएपनि उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, नेकपा महासचिव विष्णु पौडेलको भने कारणवश उपस्थिति हुन सकेको छैन।