माउन्ट केटु मपनि जान पाएको भए झन् धुमधाम हुन्थ्यो -ओली
काठमाडौँ । विश्वको दोस्रो अग्लो माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान कायम गरेर स्वदेश फर्किएका नेपाली आरोहीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रत्यक्ष सम्बोधन गरेका छन्। यही माघ ३ गते उक्त टिमले माउन्ट केटुको सफल आरोहण गरेका हुन्।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले हिमाल आरोहण जोखिमपूर्ण हुने भन्दै सहज भएको भए आफू पनि आरोहणमा जान सक्ने बताएका हुन्। ठट्यौली शैलीमा ओलीले भनेका छन्, ‘आरोहण मुस्किल छ, कठिन छ, सजिलो भएको भए त प्रधानमन्त्री पनि यो टिममा हुन्थ्यो। अझ बढी धुमधाम हुन्थ्यो।’ त्यो दुस्साहस आफूले गरेको भए फर्केर नआउने ठट्टासमेत प्रधानमन्त्रीले गरे।
पाकिस्तानको माउन्ट केटु आरोहण गरी फर्केको टिमलाई सम्मान गर्दै ओलीले अब उप्रान्त राज्यले आरोहीलाई अवार्ड दिने घोषणा गरेका छन्। आरोहीबाट सबैले प्रेरणा लिन सक्ने भन्दै टिमका सदस्यलाई बधाई ज्ञापन गरे। उनले आरोहण अनुभवलाई हल्का रूपमा नलिन आग्रह गर्दै त्यस क्रममा अत्यन्त सावधानी अपनाउन आरोहीहरूलाई सुझाव दिएका छन्।
आरोही टिमको नेतृत्वकर्ता निर्मल पुर्जाले नेपाल गरिब देश भएको कारण भन्दै राज्यबाट सहयोग नपाएको बताएपछि उनले कीर्तिमान राख्ने गरी हिमाल चढ्न जाँदा सरकारलाई औपचारिक जानकारी गराएमा राज्यको तर्फबाट उचित सहयोग गर्ने वचन दिँदै भनेका छन्, ‘यति ठूलो काममा जाँदा सरकारलाई पनि जानकारी गराउनुहोस्, धेरै नसकौँला तर, गच्छेअनुसार सहयोग गर्छ।’